काठमाडौं महानगरमा जलकुम्भको रौनक: प्रथम 'वडा अध्यक्ष कप अन्तर वडा पौडी प्रतियोगिता २०८३' को सम्पूर्ण तयारी पूरा

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौं महानगरपालिकाभित्र अब खेलकुदको नयाँ लहर सुरु भएको छ। खेल, स्वास्थ्य र सम्मानलाई एकसाथ अघि बढाउने महान् लक्ष्यका साथ इतिहासमै पहिलो पटक 'वडा अध्यक्ष कप अन्तर वडा पौडी प्रतियोगिता २०८३' आयोजना हुन गइरहेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २९ कार्यालयको आयोजना तथा नेपाल पौडी संघको प्रत्यक्ष समन्वयमा हुन लागेको यस ऐतिहासिक प्रतियोगिताले महानगरका सम्पूर्ण ३२ वटै वडाबीच एक रोमाञ्चक र प्रतिष्ठापूर्ण प्रतिस्पर्धाको मञ्च तयार पारेको छ।

यस भव्य प्रतियोगिताको मुख्य उद्देश्य केवल हार र जितमा मात्र सीमित छैन। वडावासीहरूलाई स्वस्थ, सक्रिय र खेलमुखी जीवनशैलीसँग जोड्दै महानगरभित्र लुकेर रहेका नयाँ र अब्बल पौडी प्रतिभाहरूको खोजी गर्नु यसको प्रमुख ध्येय हो। यसका साथै, खेलकुदको सशक्त माध्यमबाट वडा-वडाबीचको आपसी मित्रता, भाइचारा र सहकार्यलाई थप प्रगाढ बनाउने विश्वास आयोजकले लिएको छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको मनोबल उच्च राख्न आकर्षक नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ, जसले प्रतिस्पर्धीहरूमा थप ऊर्जा र उत्साह भर्ने निश्चित छ।

बालाजु बाइसधारा उद्यान पौडी पोखरीमा आयोजना हुने यस महाकुम्भको प्राविधिक तथा व्यवस्थापकीय तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पौडी खेलका सिनियर प्रशिक्षक एवं रेफ्री विष्णु खड्का लगायतको विज्ञ टोलीको विशेष समन्वय र सहकार्यमा प्रतियोगिता सञ्चालन हुनेछ। बालाजु बाइसधारा पौडी पोखरीका इन्चार्ज दिनेश राईले दिएको जानकारी अनुसार, खेलाडीहरूको सुविधा, सुरक्षा र प्रतियोगिताको स्तरलाई उच्च प्राथमिकतामा राख्दै पौडी पोखरी व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। सम्पूर्ण खेलाडीहरुले आफ्नो आफ्नो विधामा उच्च प्रदर्शन गर्नेछन्।


प्रतिक्रिया