रविन्द्र कट्टेल - काठमाण्डौ - नेपाली समाजको एउटा अभिन्न अंगका रूपमा रहेको गुरुङ समुदायको भाषा, भेषभूषा र मौलिक रीतिरिवाजलाई पर्दामा उतार्ने उद्देश्यका साथ चलचित्र ‘प्युरी’ (त्यो मृत्यु पछिको उपहार) प्रदर्शनका लागि तयार भएको छ। मन बहादुर गुरुङको सशक्त लेखन र उमेश गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले गुरुङ जातिको विशिष्ट संस्कारलाई मात्र प्रस्तुत गर्दैन, बरु यसले आफ्नो पहिचान गुम्दै गइरहेको वर्तमान अवस्थामा नयाँ पुस्ताका लागि एउटा ऐनाको रूपमा काम गर्ने विश्वास लिइएको छ। क्वान्लिटी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी बैशाख ११ र १२ गते काठमाडौँको गोंगबुस्थित इन्फिनिटी मुभिजमा विशेष प्रदर्शन (Special Screening) हुँदैछ।
यो चलचित्र केवल मनोरञ्जनको साधन मात्र नभई गुरुङ जातिको सभ्यता र पुर्खाले विरासतमा छाडेका सांस्कृतिक मूल्यहरूको संरक्षण गर्ने एउटा पवित्र अभियान पनि हो। आफ्नो पुर्खाको इतिहास र पहिचानलाई जोगाएर आगामी पुस्तालाई सग्लो रूपमा हस्तान्तरण गर्ने प्रयासस्वरूप ‘प्युरी’ को निर्माण गरिएको हो। यस अभियानलाई सफल बनाउन देश-विदेशमा रहेका धेरै सहयोगी मनहरू जोडिने क्रम जारी छ। निर्माण पक्षले यो अभियानलाई साझा अभियानका रूपमा अगाडि बढाउँदै अझै धेरै महानुभावहरूलाई आफ्नो जाति र संस्कृतिप्रतिको गौरवमा साथ दिन आह्वान गरेको छ। पोस्टर अभियान मार्फत सहयोगीहरूको सम्मान गर्ने कार्य चलिरहेको र यसले समुदायभित्र भावनात्मक एकतालाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
प्युरी टिमले यस अभियानलाई बलियो बनाउन सम्पूर्ण गुरुङ समुदाय र संस्कृतिप्रेमी नेपालीहरूलाई एकबद्ध हुन अपिल गरेको छ। आज हामीले जोगाएको पहिचान नै भोलि हाम्रा सन्तानका लागि गर्वको विषय बन्ने हुनाले आफ्नो भाषा र संस्कारप्रति उत्तरदायी बन्नु सबैको साझा दायित्व रहेको कुरामा चलचित्रले जोड दिएको छ। धिरेन शाक्य, उमेश गुरुङ, उषा खड्गी जस्ता स्थापित कलाकारहरूको जीवन्त अभिनय रहेको यस चलचित्रले दर्शकलाई आफ्नो माटो र मुटुसँग जोड्ने निश्चित छ। सम्पूर्ण सहयोगी दाताहरूप्रति आभार प्रकट गर्दै ‘प्युरी’ टिमले यो चलचित्रले सम्पूर्ण गुरुङ समुदायको शिर उच्च बनाउने विश्वास व्यक्त गरेको छ।