नेता फकाएर हुँदैन, जनता फकाउनुपर्छ: कांग्रेसलाई बन्द कोठाबाट बाहिर निकाल्ने सभापति गगन थापाको उद्घोष

ecopolinews.com

गोरखा । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको मुख्य मन्त्र नेता मिलाउने भन्दा पनि जनतालाई पार्टीसँग जोड्ने हुनुपर्ने बताएका छन्। गोरखा पुगेर कार्यकर्ताहरूलाई सम्बोधन गर्दै थापाले पद र अवसरको खोजीमा पार्टी छाड्नेहरूलाई नरोक्न र 'सत्ता-केन्द्रित' मानसिकता त्यागेर 'जनता-केन्द्रित' बन्न आग्रह गरेका हुन्।

सभापति थापाको सम्बोधनका मुख्य अंशहरू:

अवसरवादीलाई जान दिने: "कोही साथीहरू वडाध्यक्ष वा पालिका अध्यक्षको पद पाइन्छ भनेर अहिले पार्टी छोडेर अर्कोतिर जानुहुन्छ भने जान दिनुस्। त्यसको धेरै चिन्ता नगर्नुस्। हाम्रो ध्यान पार्टीलाई सफा बनाउन र विचारलाई ठीक बनाउनमा हुनुपर्छ।"

गठबन्धनको असर र शुद्धीकरण: विगतको गठबन्धनको राजनीतिले पार्टीलाई ध्वस्त बनाएको उल्लेख गर्दै उनले अब पार्टीभित्रको फोहोर सफा गरेर सम्हाल्नुपर्ने बेला आएको बताए।

सत्ता होइन, जनता: कांग्रेस बिग्रिनुको मुख्य कारण सत्ताकेन्द्रित हुनु रहेको भन्दै उनले भने, "सत्ता सत्ता भनेको ठाउँबाट अब जनता जनता भन्ने ठाउँमा पुर्‍याऔँ, सबै कुरा आफैँ ठीक भएर आउँछ।"

बन्द कोठाको राजनीतिको अन्त्य: अब अँध्यारो कोठामा दुई-चार जना नेता बसेर गरिने निर्णयको युग सकिएको भन्दै कांग्रेसलाई 'खोपी' (बन्द कोठा) बाट बाहिर निकालेर सीधै जनताको बीचमा लैजानुपर्नेमा उनले जोड दिए।

"चिन्ता नेता रिसाएकोमा होइन, जनता रिसाएकोमा छ"

पार्टी सभापतिको हैसियतले आफूले सबैसँग संवाद गरेर पार्टीलाई एकढिक्का बनाएर लैजाने जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउँदै थापाले स्पष्ट पारे, "हाम्रो घरभित्रको नेता-नेता मिलाएर मात्र हुँदैन। हाम्रो समस्या नेता–नेताबीचको झगडा होइन। मलाई नेता रिसायो भन्ने कुराको धेरै चिन्ता छैन, मेरो ठूलो चिन्ता भनेको जनता रिसाएको कुरामा हो।"

उनले नेतालाई खुसी पार्ने चक्करमा जनतालाई बेवास्ता गर्न नहुने यथार्थलाई औंल्याए। "नेता धेरै फकाउँदै गर्दा जनता फकाउन सकेनौँ भने त्यसको कुनै अर्थ हुँदैन। नेता मिलाउने हो, तर फकाउने जनतालाई हो," थापाले भने।

सदस्यता अद्यावधिकमा उत्साह:

सम्बोधनको क्रममा सभापति थापाले हालसम्म नेपाली कांग्रेसका ५ लाख सदस्यले आफ्नो सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिँदै बाँकी सदस्यहरूलाई पनि समयमै आफ्नो सदस्यता अद्यावधिक गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया