सिरहा कारागारमा नाइके पक्राउपछि तनाव, कैदीहरूले छतमाथि नाराबाजी

ecopolinews.com

काठमाडौं, माघ २७ – सिरहा कारागारमा नाइके इन्द्रजित यादवको पक्राउपछि उत्पन्न विवाद अझै शान्त हुन सकेको छैन। सोमबार बिहान गोप्य सूचनाका आधारमा विशेष सर्च अपरेसन गर्दा यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद बरामद भएको थियो।

बरामद पछि यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। यस घटनाले कारागारभित्रको वातावरण तनावपूर्ण बनाएको छ। कैदीहरूले यादवलाई कारागार फिर्ता ल्याउन माग गर्दै सोमबार दिनभर र रातभर कारागारको छतमाथि बसेर जोरदार नाराबाजी गरेका छन्।

स्थिति नियन्त्रणमा लिन सोमबार राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेश बहादुर पालका अनुसार, “कैदीहरूको प्रदर्शन आज बिहानसम्म पनि जारी थियो, र कारागारको तनाव व्यवस्थापन गर्न जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ।”

सुरक्षालाई ध्यानमा राख्दै कारागारभित्र र बाहिर करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले तनावपूर्ण परिस्थितिलाई नियन्त्रणमा राख्न सबै प्रयास जारी राखेको जनाएको छ।

प्रतिक्रिया