नेपालमा कफी संस्कृतिको क्रान्ति: अस्ट्रेलियाको मोहदेखि 'हिमालयन जाभा' को विशाल साम्राज्यसम्म

ecopolinews.com

आजभन्दा करिब साढे दुई दशकअघि नेपालमा कफी पिउनु भनेको कि त घरमै इन्स्ट्यान्ट कफी घोल्नु थियो, कि त पाँचतारे होटलको महँगो मेनु कुर्नु पर्थ्यो। तर, सन् १९९९ को नोभेम्बरमा काठमाडौंको कमलादीमा जब 'हिमालयन जाभा' (Himalayan Java Coffee) को ढोका खुल्यो, त्यसले नेपालको कफी संस्कृतिमा एउटा ऐतिहासिक क्रान्ति ल्याइदियो। 'बिन्स' पेलेर बनाइने असली कफीको स्वाद नेपाली जिब्रोलाई चखाउने यो नै नेपालको पहिलो आधिकारिक कफी सप थियो। भक्तपुरका रैथाने गगन प्रधान र गोरखाको थाकथलो भएका आनन्द गुरुङको यो व्यावसायिक साझेदारीले नेपालमा विदेशका 'एलिट' वर्गले मात्र पिउने कफीलाई आम नेपालीको पहुँचमा पुर्‍याउने साहसिक काम गर्‍यो।

हिमालयन जाभाको जन्मको पछाडि एउटा रोचक र प्रेरणादायी कथा लुकेको छ। उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया पुगेका गगन प्रधानले त्यहाँको कफी संस्कृतिलाई नजिकबाट आत्मसात् गरेका थिए। पढाइ सकेर स्वदेश फर्किएपछि उनले नेपालमा त्यही स्तरको कफी पिउने कुनै गन्तव्य देखेनन्। देशमै केही गर्ने हुटहुटी बोकेका उनले सुरुमा एक हप्ता पाँचतारे होटलमा जागिर पनि खाए, तर उनको मन त्यहाँ अडिएन। अस्ट्रेलियामा पिएको कफीको स्वाद र नेपालमा त्यसको अभावले नै अन्ततः 'हिमालयन जाभा' को परिकल्पनालाई जन्म दियो।

कफी सप खोल्ने अठोट त भयो, तर तयारी बिना यो सम्भव थिएन। गगनले करिब ६ सातासम्म कफी र यसको बजारबारे गहिरो अध्ययन गरे। त्यसपछि उनी आवश्यक प्राविधिक ज्ञान र तालिम लिन अमेरिका हानिए। सुरुमा ठमेलमा कफी सप खोल्ने योजना रहे पनि, केही फरक र शान्त लोकेसनको खोजी गर्दै जाँदा कमलादीको हेरिटेज प्लाजा छनोटमा पर्‍यो। त्यसपछि नै नेपालकै पहिलो आधुनिक कफी सपले औपचारिक रूपमा ग्राहकहरूलाई स्वागत गर्दै इतिहास रच्न सफल भयो।

सुरुवाती दिनहरूमा नेपालीहरूलाई कफीको स्वादमा बानी पार्न केही समय लागे पनि, आज २३ वर्षको लामो यात्रा पार गर्दा हिमालयन जाभा एउटा ब्रान्ड मात्र नभएर नेपाली कफी उद्योगको पर्याय बनिसकेको छ। अहिले यो व्यवसाय कफी बेच्नेमा मात्र सीमित छैन; उत्पादन र विस्तारमा पनि आक्रामक रूपमा अघि बढेको छ। प्रधानका अनुसार अहिले इलामको फिक्कलमा करिब १ हजार ५ सय रोपनी जग्गामा कफी खेती सुरु गरिएको छ, जसले उत्पादन समेत दिन थालिसकेको छ। आगामी दिनमा यसलाई अझै विस्तार गर्ने कम्पनीको योजना छ।

दुई दशकभन्दा बढीको यो समयरेखामा हिमालयन जाभाले आफ्नो सञ्जाललाई देशका विभिन्न कुनासम्म पुर्‍याएको छ। आज देशैभर ४० भन्दा धेरै फ्रेन्चाइज र आउटलेटहरू सञ्चालनमा छन्। कफी पिउने ठाउँ मात्र नभएर हिमालयन जाभाले रोजगारी र सीप हस्तान्तरणमा पनि ठूलो योगदान दिइरहेको छ। हाल देशका विभिन्न स्थानमा सञ्चालित ७ वटा बरिस्टा स्कुलहरूमा सयौं विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको कफी बनाउने तालिम लिइरहेका छन्। एउटा सानो सोचबाट सुरु भएको हिमालयन जाभा आज नेपाली कफी संस्कृतिको बलियो आधारस्तम्भ र एउटा सफल व्यावसायिक साम्राज्यको रूपमा ठिङ्ग उभिएको छ।

प्रतिक्रिया