एनसेलदेखि शरणार्थी प्रकरणसम्मका २५ ठूला काण्डको सूक्ष्म अनुसन्धान भइरहेको छ, दोषीलाई आजीवन काराबास पुर्‍याउँछौँ: रास्वपा सचेतक परियार

ecopolinews.com

काठमाडौँ:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले विगतका खर्बौंका ठूला भ्रष्टाचार काण्डहरूको सरकारले गम्भीर र सूक्ष्म अनुसन्धान गरिरहेको दाबी गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एनसेल, गिरीबन्धु टी–स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणलगायत करिब २५ वटा ठूला काण्डका दोषीलाई आजीवन काराबासको सजाय दिलाउने गरी काम भइरहेको उद्घोष गरेका हुन्।

उपयुक्त समय आएपछि यी प्रकरणहरूको गहिरो अनुसन्धान निष्कर्षमा पुग्ने बताउँदै परियारले रास्वपा सुशासनको एजेन्डामा सम्झौताविहीन रूपमा उभिएको प्रष्ट पारे। सरकारले शपथ ग्रहण गरेकै दिनदेखि जनताको पक्षमा काम गरिरहेको दाबी गर्दै उनले नीतिगत सुधार र सुशासनका दीर्घकालीन परिणामहरू देखिन भने केही समय लाग्ने बताए।

एक दशकभित्र दक्षिण एसियाकै सम्मानजनक आय भएको राष्ट्र बनाउने संकल्प

देशमा युवा पलायन, गरिबी, बेरोजगारी, विभेद र बेथितिको चाङ कायमै रहे पनि भू–राजनीतिक संवेदनशीलतालाई सन्तुलनमा राख्दै रास्वपाको वाचापत्र अनुसार विकास निर्माणका कामलाई तीव्रता दिइएको परियारले दाबी गरे। सुशासन, सामाजिक न्याय, स्वाधीनता र समृद्धिको मार्गबाट आगामी एक दशकभित्र नेपाललाई दक्षिण एसियाकै सम्मानजनक आय भएको राष्ट्र बनाउने संकल्पका साथ पार्टी र सरकार अहोरात्र खटिरहेको उनले स्पष्ट पारे।

प्रतिपक्षलाई सम्मान र निरन्तर आत्मसमीक्षा

प्रतिपक्षी दलहरूप्रति रास्वपाको दृष्टिकोण स्पष्ट पार्दै सचेतक परियारले विपक्षीको शक्ति र भावनाको कदर गर्दै उनीहरूलाई पनि सँगै लिएर अघि बढ्ने राजनीतिक परिपक्वता आफ्नो पार्टीसँग रहेको बताए। जनताले दिएको अभिमतको अवमूल्यन हुन नदिन पार्टीभित्र निरन्तर आत्मसमीक्षा भइरहेको उल्लेख गर्दै उनले सुशासन र समृद्धिको बाटोमा जस्तोसुकै चुनौती आए पनि दृढतापूर्वक सामना गर्ने प्रण गरे।

प्रतिक्रिया