नेविसंघ अध्यक्ष दुजाङ शेर्पा कांग्रेसको रोजाइमा,काठमाडौं–३ बाट प्रतिनिधिसभा उम्मेदवार घोषणा

ecopolinews.com

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। कांग्रेस संसदीय बोर्डले युवा पुस्ताको प्रतिनिधित्व र संगठनात्मक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

विद्यार्थी राजनीतिबाट उदाएका सक्रिय, ऊर्जाशील र संगठन निर्माणमा अब्बल नेताका रूपमा चिनिने शेर्पालाई उम्मेदवार बनाइनुले कांग्रेसले आगामी निर्वाचनमा युवा नेतृत्वलाई निर्णायक भूमिकामा अघि सार्ने स्पष्ट सन्देश दिएको छ। नेविसंघ अध्यक्षका रूपमा उनले संगठन विस्तार, राजनीतिक चेतना र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा सशक्त भूमिका निर्वाह गर्दै आएका छन्।

काठमाडौं–३ मा यसअघि कांग्रेसकै तर्फबाट सन्तोष चालिसे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नयाँ उम्मेदवारका रूपमा शेर्पालाई अघि सारिनुले पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको संकेतसमेत गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

कांग्रेस नेतृत्वले काठमाडौं–३ लाई रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र मान्दै जनआकांक्षा, युवाको सहभागिता र परिवर्तनको चाहनालाई समेट्ने उम्मेदवारका रूपमा दुजाङ शेर्पालाई अघि सारेको जनाएको छ। अब काठमाडौं–३ मा हुने चुनावी प्रतिस्पर्धा थप रोचक र अर्थपूर्ण हुने देखिएको छ।

प्रतिक्रिया