रविन्द्र कट्टेल - चितवनमा आयोजना हुन लागेको चितवन हात्ती तथा पर्यटन महोत्सव हात्ती संरक्षणको आवरणमा भइरहेको संगठित क्रूरता भएको आरोप लगाइएको छ। यस वर्ष १९ औँ संस्करणका रूपमा सौराहामा २६ देखि २८ डिसेम्बरसम्म आयोजना गर्ने तयारी भइरहेका बेला हात्तीलाई निरन्तर मानव मनोरञ्जनको साधन बनाइँदै आएको भन्दै सरोकारवालाहरूले महोत्सवको स्वरूप तत्काल परिवर्तन नगरे यसलाई गम्भीर नैतिक अपराध मानिने चेतावनी दिएका छन्।
जारी गरिएको कडा प्रेस विज्ञप्तिमा हात्तीलाई सार्वजनिक प्रदर्शन, सौन्दर्य प्रतियोगिता, खेलकुद र अन्य कार्यक्रमका लागि प्रशिक्षण दिनु नै तनाव, डर र पीडामा आधारित प्रक्रिया भएको उल्लेख छ। नियन्त्रण र निर्देशनको नाममा गरिने यस्ता अभ्यासले हात्तीको शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा पनि दीर्घकालीन क्षति पुर्याइरहेको विज्ञप्तिमा स्पष्ट गरिएको छ। आयोजकहरूले कल्याणका नाममा केही सुधार गरेको दाबी गरे पनि मूल समस्या अर्थात् हात्तीलाई मनोरञ्जनका साधनका रूपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य नभएसम्म त्यो दाबी खोक्रो हुने बताइएको छ।
हात्ती अत्यन्त बौद्धिक, सामाजिक र संवेदनशील प्राणी भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ कि आधुनिक वन्यजन्तु संरक्षणको मर्म मानव मनोरञ्जनका लागि संवेदनशील प्राणीको प्राकृतिक व्यवहार तोड्नु होइन। पर्यटन प्रवर्द्धनको नाममा हात्तीलाई अप्राकृतिक गतिविधिमा बाध्य पार्नु संरक्षण होइन, शोषण हो भन्ने निष्कर्ष निकालिएको छ।
विज्ञप्तिले हात्तीको शरीर सजाउन प्रयोग गरिने रङ, चक र सिन्दुरलाई प्रत्यक्ष विषाक्त भन्दै ती पदार्थले हात्तीको आँखामा, छालामा, श्वासप्रश्वास प्रणाली, रक्त प्रणाली, मिर्गौला र प्रजनन प्रणालीमा गम्भीर क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ। विशेष गरी सिनाबारबाट बनेको रातो सिन्दुरमा रहेको मर्करी र सिसा–आधारित रसायन मानवका लागि मात्रै होइन, हात्तीका लागि पनि घातक भएको उल्लेख गर्दै यस्ता पदार्थको प्रयोगलाई पूर्ण रूपमा रोक्न माग गरिएको छ।
हात्तीलाई रङ लगाएर, सजाएर वा ‘सुन्दर’ देखाउने अभ्यासलाई सौन्दर्यको नाममा गरिने हिंसा भन्दै यसको कडा विरोध गरिएको छ। हात्तीको सुन्दरता कृत्रिम सजावटमा होइन, उनीहरूको प्राकृतिक, स्वस्थ र स्वतन्त्र स्वरूपमै निहित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
मानव मनोरञ्जनका लागि आयोजना गरिने हात्ती फुटबल र पेनाल्टी किकजस्ता खेलहरूलाई पनि विज्ञप्तिले खुला रूपमा अमानवीय घोषणा गरेको छ। यस्ता गतिविधिले हात्तीलाई उनीहरूको स्वाभाविक व्यवहारविपरीत काम गर्न बाध्य बनाउने, अनावश्यक शारीरिक र मानसिक तनाव सिर्जना गर्ने र संवेदनशील प्राणीलाई खेलौना झैँ प्रस्तुत गर्ने आरोप लगाइएको छ। सांस्कृतिक वा पर्यटन गतिविधिको नाममा यस्ता खेललाई अब कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट सन्देश दिइएको छ।
हस्ताक्षरकर्ताहरूले हात्तीको गरिमा, अधिकार र कल्याणलाई केन्द्रमा नराखी आयोजना गरिने कुनै पनि महोत्सवलाई सभ्य समाजले सहन नसक्ने चेतावनी दिएका छन्। हात्तीमाथि हुने संरचनागत हिंसा अन्त्य नगरे चितवन हात्ती महोत्सव संरक्षण होइन, शोषणको प्रतीकका रूपमा चिनिने खतरा बढ्दै गएको उनीहरूको निष्कर्ष छ।
प्रेस विज्ञप्ति सहित