काठमाडौं, पुस १ — नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणमा देखिएको गम्भीर विवाद नियन्त्रण गर्न २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला तथा क्षेत्रीय समितिहरूमा पठाउने निर्णय गरेको छ।
महामन्त्री गगन थापा संयोजक रहेको कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो। समितिका सदस्य तथा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले सेतोपाटीसँग कुरा गर्दै क्रम संख्या नभएका फारमका कारण पार्टीभित्र उत्पन्न असन्तुष्टि र विवाद समाधानका लागि यो निर्णय गरिएको जानकारी दिए।
हालै सुदूरपश्चिमका विभिन्न जिल्लामा क्रम संख्या नखुलाइएका फारम पुगेपछि पार्टीभित्र तीव्र आलोचना मात्र होइन, संगठनात्मक अविश्वाससमेत देखिएको थियो। यही परिस्थितिलाई मध्यनजर गर्दै समितिले आज आकस्मिक बैठक बसेर स्पष्ट निर्णय गरेको हो।
रसाइलीका अनुसार, जेनजी आन्दोलन अघि नै करिब २५ प्रतिशत फारम जिल्लाहरूमा पठाइसकिएको थियो र ती फारमका आधारमा क्रियाशील सदस्यता वितरणको प्रक्रिया निरन्तर रहनेछ। बाँकी फारम भने अब २४ घन्टाभित्रै क्रम संख्या उल्लेख गरेर पठाइनेछ।
यसैबीच, नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजाल ले सभापति शेरबहादुर देउवालाई भेटेर क्रम संख्या नभएका फारम जिल्लामा पुगेको विषयमा गम्भीर ध्यानाकर्षण गराएका थिए।
समितिले अर्को महत्वपूर्ण निर्णय गर्दै जनसम्पर्क समितिहरूलाई पुस ५ गतेभित्र अनलाइनमार्फत फारम भर्न सक्ने समय दिने व्यवस्था पनि गरेको छ।
पार्टी महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यताको विषय कांग्रेसभित्र निर्णायक बन्दै गएको अवस्थामा, यो निर्णयले विवाद साम्य पार्ने कि नयाँ प्रश्न जन्माउने—सबैको ध्यान त्यतैतिर केन्द्रित भएको छ।