काठमाडौं, असोज २८ । हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसी का अनुसार, सोमबार हमासले चार जनाको शव इजरायल सरकारलाई हस्तान्तरण गरेको हो, जसमा नेपालका विपिन जोशीको नाम पनि समावेश छ।
हमासले यसअघि अन्तर्राष्ट्रिय रेडक्रसमार्फत २० जना जीवित इजरायली बन्धकहरूलाई मुक्त गरेको थियो। त्यसपछि बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जानकारी दिइएको थियो। सोमबार विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेज का शव फिर्ता गरिएको बीबीसीले जनाएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्र किबुज एलुमिम मा आक्रमण गर्दा विपिन जोशी बन्दी बनेका थिए। आक्रमण हुनु एक महिनाअघि मात्रै उनी ‘सिक एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए।
यसअघि इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले इजरायली सुरक्षा निकायले विपिन जीवित रहेको कुनै प्रमाण नपाएको जानकारी दिएका थिए।
२०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना नेपाली विद्यार्थी इजरायल पुगेका थिए। हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। आक्रमणको क्रममा आफ्ना साथीलाई जोगाउने प्रयासमा रहेका विपिनलाई हमासले बन्दी बनाएर लगेको भिडियो फुटेज पनि सार्वजनिक भएको थियो।
इजरायलका पूर्वराजदूत हनान गोदरले पनि सामाजिक सञ्जालमार्फत विपिनको मृत्यु पुष्टि गर्दै लेखेका छन् — “विपिन जोशी अब हामीमाझ रहनुभएन। दुई वर्षको आशा अब समाप्त भएको छ।”
जोशीको शव हाल तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा परीक्षणका लागि पुर्याइएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।
विपिन जोशीको जन्म २०५७ सालमा बैतडीको तत्कालीन विजयपुर गाविस (हाल पुर्चौडी नगरपालिका–१०) मा भएको थियो। उनी बुबा महानन्द जोशी र आमा पद्माका एकमात्र छोरा हुन्। जोशी परिवार हाल कञ्चनपुरमा बस्दै आएको छ।