लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको भीषण बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा ठूलो कटान सुरु गरेको छ। बाढीले बेनी नगरपालिका-८ गणेशटोल पछाडि रहेको करिब १०० मिटर पक्की तटबन्ध र चक्रपथ सडक भत्काएपछि ५०० भन्दा बढी परिवार बसोबास गर्ने बेनी बजार उच्च जोखिममा परेको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा बाढीले खतराको तह पार गरेपछि जोखिमयुक्त क्षेत्रका बासिन्दा र सामानलाई म्याग्दी बहुमुखी क्याम्पस लगायतका सुरक्षित ठाउँमा सारिएको छ। बाढी र पहिरोका कारण मालढुङ्गा-बेनी सडक र ग्रामीण सडकहरू अवरुद्ध हुनुका साथै बिजुली र खानेपानीको आपूर्तिसमेत ठप्प भएको छ।
११ असोज २०८३, आईतबार ०४:४४ मा प्रकाशित