राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ मा उम्मेदवार चयन भएका डा. लेखजंग थापा चर्चाको केन्द्रमा परेका छन्। कानुन विपरीत उनले बहुविवाह गरेको समाचार बाहिरिएपछि उनी राजनीतिक विवादमा तानिएका हुन्।
यसैलाई मुद्दा बनाएर विपक्षीहरूले सामाजिक सञ्जालदेखि स्थानीय चुनावी मैदानसम्म चर्को आलोचना गर्न थालेका छन्। २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक सांसद सूचीमा रहेका थापा केही महिनाअघि राजीनामा दिएर रास्वपामा प्रवेश गरेका थिए।
थापाको पारिवारिक पृष्ठभूमिलाई लिएर चौतर्फी आलोचना भइरहे पनि रास्वपा भने बचाउमा उभिएको छ। पार्टी प्रवक्ता मनिष झाले भने,
> “हामीले सम्पूर्ण विवरण हेरेर नै लेखजंग थापालाई उम्मेदवार बनाएका हौँ। बाहिर आएको जस्तो त्रुटि भएको देखिँदैन। पुनर्विचार हुने सवालै छैन।”
उनले थापाविरुद्ध पार्टीको कुनै निकायमा उजुरी नपरेको दाबी गर्दै, विपक्षी प्रचारलाई मात्र हावा चढाइएको बताए।
तर विपक्षी दलहरूले यसैलाई चुनावी एजेन्डा बनाउने तयारी थालेका छन्। असोज २१ गते उम्मेदवारी दर्ता गर्ने र २२ गतेसम्म उजुरी पेस गर्न सकिने भएकाले, थापाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पर्ने प्रबल सम्भावना देखिन्छ।
कात्तिक १७ गते हुने उपनिर्वाचनअघि यो बहुविवाह विवादले रुपन्देही–३ को राजनीतिक मैदान तातिएको छ।