सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरू हेरफेर गर्दै नयाँ अनुहारलाई अवसर दिएको छ। पार्टीभित्र चुलिएको आन्तरिक असन्तुष्टि र मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध आफ्नै दलभित्रबाट उठेको अविश्वासको प्रस्तावलाई मत्थर पार्ने रणनीतिका साथ कांग्रेसले दुवै पक्षलाई समेटेर मन्त्रीहरूको सूचीलाई अन्तिम रूप दिएको हो।
पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ समीकरण तयार पारिएसँगै सुदूरपश्चिम कांग्रेसभित्रको तत्कालको राजनीतिक संकट टरेको छ।
कसले मारे बाजी ? यस्तो छ सन्तुलनको सूची
लामो रस्साकस्सीपछि संस्थापन र इतर पक्ष (दिवानसिंह विष्ट खेमा) बीच मन्त्रालयको भागबन्डा मिलेको छ। संसदीय दलमा मुख्यमन्त्रीलाई दबाबमा राखेको विष्ट पक्षले ३ जना र मुख्यमन्त्री शाह पक्षले २ जनालाई सरकारमा पठाउने सहमति भएको छ।
दिवानसिंह विष्ट पक्षबाट:
बेलबहादुर रानामगर (कञ्चनपुर)
मानबहादुर रावल (अछाम)
जुना दानी (बाजुरा)
मुख्यमन्त्री कमलबहादुर शाह पक्षबाट:
विक्रमसिंह धामी (दार्चुला)
मधु भारती (कञ्चनपुर)
आजै साँझ शपथ, एमाले भने पर्ख र हेरको अवस्थामा
कांग्रेसका तर्फबाट टुङ्गो लागेका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै साँझ ६ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तयारी गरिएको छ।
यता, सत्ता गठबन्धनको अर्को प्रमुख घटक नेकपा (एमाले) ले भने सरकारमा पठाउने मन्त्रीहरूको नाम अझै टुङ्गो लगाउन सकेको छैन। एमालेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएपछि मात्रै नयाँ मन्त्रीहरू सरकारमा पठाउनुपर्ने मत बलियो रहेकाले आजै उनीहरूको शपथ हुने सम्भावना न्यून रहेको स्रोतले जनाएको छ। Pc:reportesnepal