काठमाडौँ – जेनजी आन्दोलनको क्रममा नेताहरूको घरमा आगजनी हुँदा जलेका भनिएका नोटको सत्यता पत्ता लगाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ।
विभागले मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तत्कालीन निवास खुमलटार पुगेर जलेका नोट र घटनास्थलको विवरण संकलन गरी मुचुल्का तयार पारेको छ। यसअघि विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दिपक खड्काको निवासमा पनि जलेको भनिएको रकमको मुचुल्का तयार पारिसकेको छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडिओमा प्रचण्ड निवासमा नोट जलेको देखाइएको छ। विभागले ती भिडिओ फरेन्सिक परीक्षणका लागि ल्याबमा पठाउने तयारी गरिरहेको छ। कतिपय भिडिओ विदेशबाट समेत भाइरल भएका कारण वास्तविकता पुष्टि हुनु जरुरी रहेको विभागले जनाएको छ।
अहिले प्रचण्ड र देउवा निवासमा प्रवेशमा रोक लगाइएको छ। विभागको टोलीले घटनास्थलबाट जलेका नोटका केही टुक्रा र वरपरको खरानी संकलन गरेको छ। साथै, केही जलेका नोट राखेका व्यक्तिहरूले अनुसन्धानमा सहयोग गर्न प्रहरीलाई नोट बुझाएका छन्।
यदि जलेको रकमको सत्यता पुष्टि भएमा त्यसको स्रोत, कानुनी अवस्था र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अघि बढ्ने छ। प्रारम्भिक अनुमानअनुसार, धेरैजसो नोट जलेको वा लुटपाट भइसकेको छ।