काठमाडौं, असोज ३१ – नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुँवेर खापुङले जेन–जी पुस्ताद्वारा भदौ २३ र २४ गते गरिएको प्रदर्शन र त्यसपछिका घटनाबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन्।
७०औं प्रहरी दिवसका अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरी संगठनले सदैव नागरिकको स्नेह र आक्रोश दुवैको सामना गर्दै राज्यको सशक्त प्रतिनिधिका रूपमा काम गर्दै आएको बताए।
उनका अनुसार नेपाल प्रहरी राजनीतिक परिवर्तनका बीच पनि शान्ति, सुरक्षा र नागरिक भरोसाको प्रतीकका रूपमा स्थापित छ। उनले भने, “प्रहरी नागरिकको सुरक्षाका लागि व्यावसायिक रूपमा सक्षम र प्रतिबद्ध छ।”
आइजिपी खापुङले प्रहरीभित्र शुद्धीकरण र सुधारको आवश्यकता रहेको उल्लेख गर्दै नागरिकमाथि अपशब्द प्रयोग वा रुखो व्यवहार कहिल्यै स्वीकार्य नहुने चेतावनी दिए। उनले प्रहरी संगठनका सदस्यहरूलाई वचन, व्यवहार र बोलीमा सुधार ल्याउन आग्रह गरे।
उनले अन्त्यमा प्रदर्शनका क्रममा ज्यान गुमाएका प्रहरी तथा नागरिकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै देशको शान्ति र स्थायित्वका लागि एकताबद्ध हुन सबैलाई आह्वान गरे।