काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत कात्तिक ३ गतेदेखि सुनको नयाँ मूल्य तोकेको छैन। उक्त दिन तोकिएको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ थियो। त्यसयता लगातार सार्वजनिक बिदा परेकाले सुनको नयाँ मूल्य निर्धारण रोकिएको हो। नेपालमा बिदाका दिन सुनको मूल्य तोकिने चलन छैन, त्यसैले अब आइतबार मात्र नयाँ दर तोकिनेछ।
यता, अन्तर्राष्ट्रिय बजारमा भने मंगलबार १२ वर्षयताकै ठूलो गिरावट आएको थियो। लगातार रेकर्ड बनाउँदै आएको सुनको मूल्य एकैदिनमा ६ प्रतिशतभन्दा बढीले घटेर हलचल ल्याएको हो।
महासंघका वरिष्ठ उपाध्यक्ष धर्म सुन्दर बज्राचार्यका अनुसार, “यदि त्यो दिन नेपालमा सार्वजनिक बिदा हुने थिएन भने, सुनको मूल्य करिब १८ हजार रुपैयाँले घट्ने सम्भावना थियो।”
‘द फाइनान्सियल टाइम्स’ का अनुसार, सोमबार प्रतिऔंस ४,३८१ डलरसम्म पुगेको सुन मंगलबार घटेर ४,०८२ डलरमा झर्यो। यो सन् २०१३ अप्रिलपछि एकैदिनमा आएको सबैभन्दा ठूलो गिरावट हो।
विशेषज्ञहरूका अनुसार, अमेरिकी डलरको कमजोर स्थिति, सरकारी ऋणको तीव्र वृद्धि र डोनाल्ड ट्रम्पको व्यापार युद्धको प्रभावले सुनमा लगानी बढाउँदै ल्याएको थियो। साथै, विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डार गर्न थालेपछि मूल्यमा निरन्तर वृद्धि देखिएको थियो।
तर हालको गिरावटपछि बजारमा सुधारको संकेत कमजोर देखिएको छ। बुधबार बजार बन्द हुँदा प्रतिऔंस ४,०९७ डलर रहेको सुन बिहीबार फेरि घटेर ४,०२६ डलरमा झर्यो, र शुक्रबार ४,०५६ डलरमा कारोबार भइरहेको ‘गोल्ड प्राइस डटकम’ ले उल्लेख गरेको छ।
यस आधारमा, नेपालमा आइतबार मूल्य निर्धारण हुँदा सुन प्रतितोला कम्तीमा १५ हजार रुपैयाँभन्दा बढीले घट्न सक्ने अनुमान गरिएको छ।