२२ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कार्यसमेत ढिला गर्ने, अनावश्यक प्रक्रिया देखाउने र जिम्मेवारी पन्छाउने प्रवृत्तिबाट निजामती कर्मचारीले आफूलाई मुक्त गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बदलिंदो विश्व परिस्थिति, नयाँ प्रविधि र नागरिकको अपेक्षा अनुरूप निजामती सेवाले रुपान्तरणको बाटो लिनैपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीले भने, “निजामती सेवा सरकारलाई जनता समक्ष पु¥याउने मुख्य माध्यम हो। नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्ने जिम्मेवारी यही सेवामा निहित भएकाले यसको प्रभावकारिता नै सरकारको सफलता हो।”
उनले अझै भने, “अब नागरिक सेवाको खोजी गर्दै कार्यालय धाउने होइन, सेवा आफैं नागरिकको घरदैलो पुग्ने समय आएको छ। टेबल–कुर्सीमा सीमित सेवा होइन, प्रविधि प्रयोग गरेर छिटो र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्छ।”
‘विश्वास जित्ने बाटो पारदर्शिता र जवाफदेहितामा’
प्रधानमन्त्री ओलीले पछिल्ला वर्षमा केही कर्मचारीहरु आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित भएको कारण नागरिकको विश्वास घटेको भन्दै सचेत हुन आग्रह गरे। उनले भने, “नागरिकलाई सेवामा झन्झट र असुविधा दिने अभ्यासले सरकारलाई पनि कमजोर बनाउँछ। सुशासन, पारदर्शिता र जवाफदेहिता मार्फत मात्र राज्यले विश्वास जित्न सक्छ।”
नयाँ कानून र डिजिटल रुपान्तरणतर्फ अग्रसर
उनले हाल संसदमा पारित हुने प्रक्रियामा रहेको निजामती विधेयकले कर्मचारीको पेशागत उन्नति मात्र नभई संघीयताले अपेक्षा गरेको सेवा प्रवाहलाई नयाँ उचाइ दिने बताए।
प्रधानमन्त्री ओलीले ई–गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण, अनलाइन सेवा प्रवाह र नागरिक एपमार्फत एकीकृत सेवा प्रणालीलाई आगामी चरणको मुख्य प्राथमिकता बताउँदै उच्च मनोबलका साथ जिम्मेवार ढङ्गले काम गर्न सबै कर्मचारीलाई आह्वान गरे।
‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा कर्मचारीको भूमिका
सन्देशको अन्त्यमा प्रधानमन्त्री ओलीले राष्ट्रको साझा यात्रामा राष्ट्रसेवक कर्मचारीहरुको सिर्जनशीलता, प्रतिबद्धता र दक्षता अपरिहार्य रहेको भन्दै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेका छन्।