काठमाडौं, असोज २० — देशभर चलेको जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त पछिल्लो विवरणअनुसार ती घाइतेहरू काठमाडौँदेखि पोखरासम्मका अस्पतालमा उपचार गराइरहेका छन्।
मन्त्रालयका अनुसार सिभिल अस्पतालमा एक, राष्ट्रिय ट्रमा सेन्टरमा १०, त्रिवि शिक्षण अस्पतालमा पाँच, काठमाडौँ मेडिकल कलेजमा तीन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन, नेपाल प्रहरी अस्पतालमा एक र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन्। त्यसैगरी, बी एन्ड बी अस्पतालमा तीन, विराट मेडिकल शिक्षण अस्पतालमा एक, नोबेल मेडिकल कलेजमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना घाइते उपचाररत छन्।
पछिल्लो तथ्याङ्कअनुसार आन्दोलनका क्रममा घाइते भई अस्पताल पुगेका दुई हजार ३१६ जनामध्ये दुई हजार २३८ जनाले उपचारपछि डिस्चार्ज पाइसकेका छन्।
मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था र प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरूसँगको समन्वयमा यो विवरण सार्वजनिक गरेको हो। यस क्रममा अस्पतालमा भर्ना वा मृत्यु भएका व्यक्तिहरूको संख्या ४९ रहेको पनि उल्लेख गरिएको छ।
साथै, २०८२ असोज १२ गतेदेखि अहिलेसम्म जेनजी क्लिनिकमार्फत उपचार सेवा लिएका घाइतेको संख्या नौ रहेको मन्त्रालयले जनाएको छ।