पत्रकार पर्वतराज घिमिरेमाथि ज्यान मार्ने धम्की : प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमण – नेपाल पत्रकार महासंघको घोर आपत्ति

ecopolinews.com

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरेमाथि आएको ज्यान मार्ने धम्कीप्रति कडा शब्दमा विरोध गर्दै घोर निन्दा प्रकट गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सम्बन्धी समाचार प्रकाशित भएपछि मेयर शाहका भिनाजु बताइने सुवास शाहले पत्रकार घिमिरेलाई फोनमार्फत अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको घटना सार्वजनिक भएपछि महासंघले यसलाई प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथिको प्रत्यक्ष आक्रमण ठहर गरेको हो।

महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ –

> “यो कुनै व्यक्तिगत रिसइवी होइन, स्वतन्त्र पत्रकारिता र अभिव्यक्तिको अधिकारमाथिको नियोजित हमला हो। यसले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको मर्ममै चुनौती दिएको छ।”

विज्ञप्तिमा अझ भनिएको छ, “समाचारप्रति असन्तुष्टि भएमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था रहेको हुँदा धम्कीपूर्ण व्यवहार गर्नु प्रेस आचारसंहिता र प्रचलित कानुनको ठाडो उल्लङ्घन हो।”

महासंघले सुरक्षा निकायहरूलाई घटनाको तत्काल र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ। साथै, पत्रकारमाथि हुने धम्की र आक्रमणका घटनामा शून्य सहनशीलता नीति अपनाउन सरकारसँग जोडदार आग्रह गरेको छ।

सचिव बोहोराले थप भने,

> “स्वतन्त्र प्रेस र निर्भीक पत्रकारिता लोकतन्त्रका मेरुदण्ड हुन्। पत्रकारको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो।”

पत्रकार महासंघले सम्पूर्ण पत्रकारहरूलाई एकता र सतर्कता अपनाउन आह्वान गर्दै प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकार जोगाउन सबै निकायसँग सहकार्य गर्ने प्रतिवद्धता पनि जनाएको छ।

प्रतिक्रिया