लमजुङमा कांग्रेसको दाउः किसान–उद्यमी गमप्रसाद गुरुङ प्रतिनिधिसभा उम्मेदवार

ecopolinews.com

५ माघ, पोखरा । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङबाट गमप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ। गाउँमै फर्किएर कृषि र जडिबुटी खेतीमार्फत उद्यमशीलता विकास गरेका गमप्रसादलाई यसपटक कांग्रेसले विश्वासको मत दिएको हो।

कांग्रेस राजनीतिसँगै व्यवहारिक जीवनमा समेत सक्रिय गमप्रसाद हाल पार्टीको जिल्ला सदस्य हुन्। यसअघि उनी नेपाली कांग्रेस लमजुङको जिल्ला सभापतिमा डा. टकराज गुरुङसँग पराजित भएका थिए। टकराज हाल गण्डकी प्रदेश सरकारका अर्थमन्त्री छन्। गमप्रसाद यसअघि पार्टीको केन्द्रीय सदस्य पदमा समेत प्रतिस्पर्धा गरिसकेका अनुभवी नेता हुन्।

इमान्दार, स्वच्छ छवि र जरा–स्तरको पकड भएका नेताका रूपमा परिचित गमप्रसाद गगन थापा पक्षधर मानिन्छन्। कांग्रेसले उनलाई एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसँग कडा प्रतिस्पर्धामा उतारेको छ। यस निर्वाचन क्षेत्रमा नेकपाबाट हरिजङ तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्म केसी उम्मेदवार छन्।

गमप्रसादले यसअघि तत्कालीन जिल्ला विकास समिति सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर विजय हासिल गरेका थिए। राजनीतिसँगै तितेपातीसहितका स्थानीय जडिबुटी विदेश निर्यात गरी उद्यमशीलताको उदाहरण प्रस्तुत गरेका उनी विकास र रोजगारीका एजेन्डासहित मैदानमा उत्रिएका छन्।

स्थानीय तहमा लोकप्रियता र व्यवहारिक अनुभवका कारण कांग्रेसले गमप्रसादलाई लमजुङमा बलियो उम्मेदवारका रूपमा हेरेको छ।

प्रतिक्रिया