जेनजी आन्दोलनको दमनमा उच्चस्तरीय छानबिन आयोग गठन, कार्की अध्यक्ष नियुक्त

ecopolinews.com

काठमाडौँ – सरकारले जेनजी आन्दोलनको दमन सम्बन्धी भदौ २३ र २४ को घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेको छ। आयोगको अध्यक्षमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलाई नियुक्त गरिएको छ।

आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। आयोगको कार्यावधि तीन महिनाको रहनेछ।

उक्त निर्णय आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा भएको हो। बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आयोग गठनसम्बन्धी जानकारी पत्रकारहरूलाई दिएका थिए।

साथै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा एआईजी मनोजकुमार केसीलाई सरुवा गरिएको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाल नियुक्त भएका छन् भने हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशेषज्ञ पदमा नियुक्त गरिएको छ। दुवैको कार्यावधि चार वर्षको रहनेछ।

प्रतिक्रिया