काठमाडौं । नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित हुनुभएको छ । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्नुभएको हो । पोखरेलले ५ सय ६४ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ ।
महासचिव पदमा शंकर पोखरेल दोहोरिनुभएको छ । उहाँले १ हजार २ सय २८ मत प्राप्त गर्दै प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पछि पार्नुभएको हो । पाण्डेले ९ सय ९९ मत हासिल गर्नुभयो ।
उपाध्यक्ष पदमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त निर्वाचित हुनुभएको छ । यसैगरी, उपमहासचिव पदमा लेखराज भट्ट, रघुबीर महासेठ र योगेश भट्टराई विजयी हुनुभएको छ ।
सचिव पदमा महेश बस्नेत, पद्या अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, गोकुल बास्कोटा, भानुभक्त ढकाल र यामलाल कँडेल निर्वाचित हुनुभएको छ ।
नयाँ नेतृत्व चयनसँगै एमालेले आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक मजबुतीमा केन्द्रित हुने संकेत देखिएको छ ।