मेयर हर्क साम्पाङ पुनः सक्रिय : प्रधानमन्त्रीलाई राजीनामाको दबाब, ऊर्जा मन्त्री घिसिङको निर्णयमा आपत्ति

ecopolinews.com

काठमाडौं, असोज १२ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फेरि सामाजिक सञ्जालमा सक्रिय भएका छन्। केही समय मोबाइल हराएपछि निस्क्रिय बनेका उनी नयाँ डिभाइसमार्फत पुनः सक्रिय भएसँगै आफ्ना धारणा सार्वजनिक गर्न थालेका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन–जी आन्दोलनका माग सम्बोधन गर्न नसकेको आरोप लगाउँदै तत्काल राजीनामा दिन दबाब दिएका छन्। साम्पाङले लेखेका छन्, “सुशीला जी, तपाईंले जेन–जीको मर्मअनुसार काम गर्न सक्नुभएन। राजीनामा दिनुस्। म गर्छु, उनीहरूको माग एक–एक गरेर पूरा।”

त्यस्तै उनले भ्रष्टाचार छानबिनको विषयमा पनि सरकारप्रति प्रश्न उठाउँदै प्रधानमन्त्री र मन्त्रीहरूले नै सर्वप्रथम आफ्नै सम्पत्ति सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार, “बिना स्रोतको सम्पत्ति राखेको प्रमाणित भए आफैंलाई हतकडी लगाउने हिम्मत गर्नुपर्छ अनि मात्र अरूतिर जाँच गर्दा नैतिकता देखिन्छ।”

ऊर्जा मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन निर्देशक हितेन्द्र शाक्यलाई हटाउने निर्णयप्रति पनि साम्पाङ असहमति प्रकट गरेका छन्। उनले लेखेका छन्, “हितेन्द्रलाई निकाल्नुभन्दा देश र जनताको लागि काम गर्नुपर्ने थियो। यस्तो प्रतिशोधी शैलीले निको गर्दैन। हामी बदला होइन, बदलाव चाहन्छौं। गलत चाल कुलमान जी।”

यसैबीच उनले हराएको आफ्नो मोबाइलबारे पनि प्रतिक्रिया दिएका छन्। साम्पाङले मोबाइल खोलेर प्रयोग गर्ने जो कोही पक्राउ पर्ने चेतावनी दिँदै तत्काल फिर्ता गर्न अनुरोध गरेका छन्।

 मेयर साम्पाङको पुनः सक्रियताले मुलुकको समसामयिक राजनीति र सरकारप्रतिको असन्तुष्टिको बहसलाई फेरि तातो बनाएको छ।

प्रतिक्रिया