काठमाडौं ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट निस्कँदै गर्दा पत्रकारमाथि झोक्किएकी छिन्। मन्त्रिपरिषद् विस्तारबारे सोधिएको सामान्य प्रश्नले उनी असन्तुलित बनेकी थिइन्।
पत्रकारले सोधेका थिए — “प्रधानमन्त्रीज्यू, मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ?”
तर कार्कीले रिसाउँदै छोटो तर तीखो जवाफ फर्काइन् — “भएको भएै छ नि।”
जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले दुईपटक गरेर मन्त्रिपरिषद् विस्तार गरे पनि अझै पूर्णता दिन सकेकी छैन। हालसम्म उनले ७ जना मन्त्री मात्र नियुक्त गरेकी छन् भने १२ मन्त्रालयमध्ये ९ मन्त्रालय अझै आफ्नै जिम्मामा राखेकी छन्।
उनले सम्हालेका मन्त्रालयमा परराष्ट्र, रक्षा, खानेपानी, महिला–बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम–रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति–पर्यटन तथा नागरिक उड्डयन, र स्वास्थ्य–जनसङ्ख्या मन्त्रालय रहेका छन्।
तर बाँकी मन्त्रालयमा मन्त्री नियुक्ति कहिले हुन्छ भन्ने विषयमा कुनै निश्चितता छैन। यही विषयमा जनताको जिज्ञासा लिएर प्रश्न गरेका पत्रकारलाई उल्टै आक्रामक प्रतिक्रिया दिँदै उनले जनताको सरकारको शैलीसँग असंगत व्यवहार प्रदर्शन गरेकी छिन् भन्ने टिप्पणी सार्वजनिक रूपमा फैलिएको छ।
सञ्चार जगतका विज्ञहरूका अनुसार, अन्तरिम सरकार प्रमुखको रूपमा कार्कीले जनताको प्रश्नलाई सम्मानपूर्वक जवाफ दिनुपर्ने थियो। सभ्य संवाद लोकतन्त्रको मेरुदण्ड हो, र पत्रकारको प्रश्नलाई जनताको आवाजका रूपमा लिने संस्कार नेतृत्वमा स्थापित हुन जरुरी छ भन्ने धारणा बढ्दै गएको छ।
प्रधानमन्त्री कार्कीको “भएको भएै छ नि” भन्ने प्रतिक्रियाले उनको असहिष्णु र अहंकारी पक्ष देखाएको विश्लेषकहरू बताउँछन्। अन्तरिम सरकार भए पनि जनताले प्रधानमन्त्रीबाट संयम, पारदर्शिता र संवादमैत्री व्यवहारको अपेक्षा गर्छन्। पत्रकारले सोधेको प्रश्न आलोचना होइन, सूचना र जवाफदेहिताको अभ्यास हो — जसले लोकतान्त्रिक संस्कृतिलाई सुदृढ पार्छ।
प्रधानमन्त्रीको आक्रामक प्रतिक्रिया सञ्चार र जनताको भरोसामाथिको चोट जस्तै देखिएको छ। जिम्मेवार नेतृत्व भनेको जनताको प्रश्न सुन्ने, त्यसको उत्तर दिने र पारदर्शी शासन प्रणाली निर्माण गर्ने संयमित नेतृत्व हो — र यही नेतृत्वको पहिचान अझै पनि जनताले खोजिरहेका छन्।