काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पुस १८ गते शुक्रबार दिउँसो ३ बजे बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको राजनीतिक र संगठनात्मक गतिविधिलाई मध्यनजर गर्दै बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसैबीच, बैठक आह्वान हुनुअघि नै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन सम्भव नहुने अवस्था आए विशेष महाधिवेशनको विकल्प खुला राख्नुपर्ने संकेत दिएका थिए ।
महामन्त्रीद्वयको उक्त अभिव्यक्तिपछि पार्टीभित्र नेतृत्व, विधान र आगामी कार्यदिशालाई लिएर नयाँ बहस सुरु भएको छ । यही पृष्ठभूमिमा बोलाइएको कार्यसम्पादन समितिको बैठकले कांग्रेसको भावी रणनीतिबारे महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ ।