को–को छन् भ्रष्टाचारको घेरामा?एमाले महाधिवेशनको कडा आह्वान

ecopolinews.com

काठमाडौं । नेकपा एमालेले देशमा चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको तत्काल अनुसन्धान सुरु गर्न सरकार र सम्बन्धित निकायलाई कडा आह्वान गरेको छ।

काठमाडौंमा बिहीबार सम्पन्न पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनले विगतदेखि हालसम्म सार्वजनिक बहसमा आएका सम्पूर्ण भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो। प्रस्तावबारे जानकारी दिँदै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले राज्यका उच्च राजनीतिक तथा प्रशासनिक ओहोदामा रहेकाहरूको सम्पत्ति छानबिन गर्न महाधिवेशनले स्पष्ट माग गरेको बताउनुभयो।

महाधिवेशनले भ्रष्टाचारमा दोषी ठहरिने जो–कोहीलाई पनि कानुन बमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएको छ। साथै, यस विषयमा राज्यका अख्तियारप्राप्त निकायले ढिलाइ नगरी आवश्यक निर्णय र कदम चाल्नुपर्ने माग गरिएको छ।

नेता ज्ञवालीले एमाले सधैं सुशासन, पारदर्शिता र स्वच्छ राजनीतिक अभ्यासको पक्षमा उभिँदै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार पार्टीमा कुनै नेता वा पदाधिकारीमाथि गम्भीर प्रश्न उठेमा सार्वजनिक ओहोदाबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्ने परम्परा रहँदै आएको छ। अभियोजन सुरु भएसँगै कानुनी रूपमा सफाइ नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गरिने अभ्यासलाई पनि महाधिवेशनले पुनः पुष्टि गरेको छ।

महाधिवेशनले ११ औं राष्ट्रिय महाधिवेशनलाई राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा सामाजिक–आर्थिक रुपान्तरणका लागि भएका विभिन्न आन्दोलन, क्रान्ति र देशभक्तिपूर्ण संघर्षको निरन्तरताको रूपमा चित्रित गरेको नेता ज्ञवालीले बताउनुभयो।

एमालेको यस घोषणालाई राजनीतिक वृत्तमा भ्रष्टाचारविरुद्धको दबाब बढाउने कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया