काठमाडौं । प्रभु ग्रुप्सको प्रमुख लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाईड्रो ईनभेष्टमेन्ट कम्पनी लिमिटेडले आगामी पुस १९ गते हुने वार्षिक साधारणसभामा आईपीओ (Initial Public Offering) निष्कासनको प्रस्ताव पारित गर्ने तयारीसँगै केयर रेटिङ्ग नेपाल लिमिटेडसँग क्रेडिट रेटिङ्ग सम्झौता सम्पन्न गरेको छ।
सम्झौता पत्रमा प्रभु स्टील्सका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सिताराम धिमाल र केयर रेटिङ्ग नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झाले हस्ताक्षर गरे। यस सम्झौतासँगै कम्पनीले अब क्रेडिट रेटिङ्ग प्रक्रिया पूरा गरी धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासनका लागि आवेदन दिने तयारी गरेको छ।
कम्पनीले लगानी गरेको २५.४ मेगावाटको सुपर आँखुखोला र ३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना तीव्र गतिमा निर्माणाधीन छन्। साथै, सोलुखुम्बुको दोभान खोला (४.२ मे.वा.) र सिन्धुपाल्चोकको मध्य इन्द्रावती खोला (६.६५ मे.वा.) परियोजनाहरू पनि निर्माण चरणमा छन्।
त्यसैगरी, कम्पनीको प्रमुख लगानीमा रहेको प्रभु जलविद्युत विकास लिमिटेडले इन्द्रावती खोला (९.३२५ मे.वा.), राहगाढ (९.६२ मे.वा.), र लिदिन खोला (४.१२५ मे.वा.) जलविद्युत् आयोजना निर्माणको काम सुरु गरेको छ।
प्रभु स्टील्सको ठूलो लगानी रहेको सिद्धार्थ केबलकार बुटवलमा गत भदौ १९, २०८१ देखि सञ्चालनमा आएको छ। माथिल्लो म्याग्दी आयोजनामा कम्पनीको ४० प्रतिशत शेयर लगानी छ, जसको ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ।
वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत धिमालका अनुसार, कम्पनीले आईपीओबाट संकलन हुने रकम सहायक कम्पनीका जलविद्युत् आयोजना र निर्माणाधीन परियोजनाहरू सम्पन्न गर्न प्रयोग गर्ने लक्ष्य राखेको छ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ। प्रभु स्टील्स हाल ऋणमुक्त र निरन्तर नाफामा सञ्चालनमा रहेको कम्पनी हो। गत असोज ९ गतेको विशेष साधारणसभाबाट कम्पनीले १ः१.३४ का दरले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरिसकेको छ, जसको बिक्री आगामी कार्तिक ९ गतेदेखि खुल्ने जनाइएको छ।
अभियान राष्ट्रिय दैनिकमा प्रकाशित सूचनाअनुसार, कम्पनीले पुस महिनामा साधारणसभा गरी आईपीओ निष्कासन प्रस्ताव पारित गरी धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको छ।