काठमाण्डौ, साउन २४ । नेपालको अटोमोबाइल क्षेत्र नयाँ युगतर्फ अग्रसर भइरहेको सन्देश दिँदै नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले दोस्रो नेपाल मोबिलिटी एक्सपो देशको अटोमोबाइल उद्योगका लागि ऐतिहासिक अवसर बन्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार आगामी अगस्ट ११ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोले नेपालको मोबिलिटी क्षेत्रको तीव्र विकास, अत्याधुनिक प्रविधि र हरित यातायातप्रतिको प्रतिबद्धतालाई एकै थलोबाट विश्वसामु प्रस्तुत गर्नेछ।
अध्यक्ष वैद्यले गत वर्ष ४२ वटा ब्रान्ड सहभागी भएको एक्सपो यस वर्ष अझ व्यापक र आकर्षक बन्दै ५५ वटा ब्रान्डको सहभागिता सुनिश्चित भएको जानकारी दिनुभयो। उहाँले यसपटक ४४ वटा नयाँ सवारीसाधन औपचारिक रूपमा सार्वजनिक (लञ्च) गरिने बताउँदै नेपाली उपभोक्ताले विश्व बजारसँगै नवीनतम प्रविधिका गाडी प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउने उल्लेख गर्नुभयो।
उहाँका अनुसार एक्सपोमा ए, बी र सी सेग्मेन्टका लोकप्रिय गाडीदेखि अत्याधुनिक प्रिमियम कारसम्मका विभिन्न यात्रुवाहक सवारीसाधन प्रदर्शन गरिनेछ। नयाँ मोडल मात्र होइन, बजारमा लोकप्रिय भइसकेका सवारीका नयाँ संस्करणसमेत प्रदर्शनीमा समावेश गरिने भएकाले यो एक्सपो सम्पूर्ण अटोमोबाइल उद्योगको साझा उत्सवका रूपमा स्थापित हुने उहाँको धारणा छ।
अध्यक्ष वैद्यले एक्सपोलाई केवल गाडी प्रदर्शन गर्ने कार्यक्रमका रूपमा सीमित नराखिएको स्पष्ट पार्दै चार्जिङ पूर्वाधार निर्माण गर्ने कम्पनीहरू, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेस्टुरेन्ट तथा ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सेवा र अत्याधुनिक प्रविधिलाई समेत एउटै मञ्चमा प्रस्तुत गरिने जानकारी दिनुभयो। यसले विद्युतीय सवारीसाधनको समग्र इकोसिस्टम निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने उहाँको विश्वास छ।
नाइमाका अनुसार एक्सपोको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। भृकुटीमण्डपमा स्टल निर्माण कार्य तीव्र रूपमा भइरहेको छ भने सहभागी ब्रान्ड, वक्ता, मोडरेटर तथा प्यानल सदस्यहरूको तयारी पनि पूरा भइसकेको छ। अध्यक्ष वैद्यले दोस्रो नेपाल मोबिलिटी एक्सपोले नेपालमा आधुनिक, दिगो र प्रविधिमैत्री यातायात प्रणालीको विकासलाई नयाँ गति दिने विश्वास व्यक्त गर्दै सबै सरोकारवाला र सर्वसाधारणलाई एक्सपोमा सहभागी हुन आग्रह गर्नुभएको छ।