२५ असोज, नेपालगञ्ज । बाँके प्रहरीले अनैतिक गतिविधिविरुद्ध ठूलाे अभियान चलाउँदै नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा छापा मारी ४५ जनालाई नियन्त्रणमा लिएको छ।
बाँके जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अंगुर जिसीको निर्देशन र समन्वयमा चलाइएको सो विशेष अपरेशनले अपराध नियन्त्रण र सामाजिक शुद्धीकरणतर्फ महत्वपूर्ण सन्देश दिएको छ।
प्रहरीले नेपालगञ्जका मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा एकैसाथ छापा मारेको हो। सो क्रममा ३१ महिला र १४ पुरुष, जसमा ८ जना भारतीय नागरिक समेत रहेका, नियन्त्रणमा लिइएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार ती होटलहरूमा अनैतिक कार्य भइरहेको भन्ने उजुरीपछि प्रहरी टोलीहरूले योजनाबद्ध रूपमा छापा मारेका थिए।
“हामीले प्राप्त सूचनाका आधारमा तत्काल टोली परिचालन गरी छापा मार्यौं। होटल सञ्चालकसहित संलग्न सबैलाई नियन्त्रणमा लिइएको छ,” डीएसपी पातलीले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ।
स्थानीय बासिन्दाहरूले लामो समयदेखि यस्ता गतिविधि बढ्दै गएको गुनासो गर्दै आएका थिए। प्रहरीको यो कदमले नेपालगञ्ज क्षेत्रलाई अपराधमुक्त बनाउन एसपी अंगुर जिसीको दृढ नेतृत्व र सक्रियता पुनः प्रमाणित गरेको स्थानीयहरूले बताएका छन्।
एसपी जिसीले जिल्लामा पदस्थापन भएदेखि नै अपराध नियन्त्रण, महिला हिंसा, मादक पदार्थ नियन्त्रण र अवैध क्रियाकलापविरुद्ध लगातार अभियान चलाइरहेका छन्। उनका अनुसार, बाँके प्रहरीले अब यस्ता होटल र रेष्टुरेन्टमा हुने गैरकानुनी कार्यविरुद्ध अझ कडा निगरानी गर्ने तयारी गरेको छ।
सुरक्षा स्रोतका अनुसार, आगामी दिनमा पनि ‘सफाइ अभियान’ निरन्तर चलाइने र यस्ता अनैतिक कार्यमा संलग्न जो कोहीमाथि कानूनी कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ।
बाँके प्रहरीको यो कारवाहीले अपराधविरुद्धको लडाइँमा प्रहरीको सक्रियता र जिम्मेवारीको उच्च उदाहरण प्रस्तुत गरेको छ।