चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रयोग गरिएको विद्युतीय मतदान मेसिन (ईभीएम) लाई लिएर चौतर्फी प्रश्न उठेपछि प्रविधि विकासकर्ता 'रामलक्ष्मण ग्रुप' ले ओकलेको भित्री यथार्थले राजनीतिक र प्राविधिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ । महाधिवेशनका क्रममा प्रविधिमाथि नै आशंका गरिएपछि मौनता तोड्दै विकासकर्ता रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले निर्वाचन आयोगको कार्यशैली र अन्तिम समयमा दिइएका दबाबपूर्ण निर्देशनहरूको फेहरिस्त सार्वजनिक गरेका छन् । उनीहरूले सार्वजनिक गरेको स्पष्टीकरणले रास्वपाको निर्वाचन निष्पक्षता र आन्तरिक व्यवस्थापनको कमजोरीलाई छताछुल्ल पारेको छ ।
पार्टी कार्यालयमा 'राइट टु रिजेक्ट' र 'राइट टु रिकल' का ब्यानर टाँसेर प्रत्यक्ष लोकतन्त्रको वकालत गर्ने रास्वपाले मतदानका क्रममा 'नो भोट' को व्यवस्था किन हटाउने भन्ने संशयको चुरो मध्यरातको एउटा निर्णयमा लुकेको पाइएको छ । सुरुको सम्झौता अनुसार ऐच्छिक मतदान अर्थात् मतदाताले चाहेमा मात्र मत खसाल्ने प्रणाली तयार गरिएको भए पनि निर्वाचन आयोगले मध्यरातमा अन्तिम नामावली बुझाउने क्रममा मेसिनलाई 'अनिवार्य मतदान' को ढाँचामा ढाल्न दबाब दिएको थियो । सम्झौता विपरीतको यो सर्तले भविष्यमा समस्या ल्याउने चेतावनी दिँदादिँदै पनि आयोगले जसरी पनि अनिवार्य गर्न दबाब दिएपछि विकासकर्ताहरूले लिखित निर्देशन मागेका थिए र केन्द्रीय निर्वाचन आयोगबाट लिखित निर्देशन आएपछि मात्र इच्छाधीन मतको सट्टा तोकिएको संख्यामा मत खसाल्नै पर्ने गरी मेसिन सेट गरिएको खुलासा भएको छ ।
महाधिवेशनका क्रममा एउटै पदमा ६४ जना उम्मेदवारको लामो सूची देखिनु र उम्मेदवारको फोटो गायब हुनुमा पनि प्रविधिको सीमा नभई व्यवस्थापकीय लाचारी मुख्य कारण रहेको दाबी गरिएको छ । भूगोल र विभिन्न क्लस्टरका आधारमा फोटोसहितको परिष्कृत प्रणाली तयार पारिसकिएको अवस्थामा, निर्वाचन आयोगले अन्तिम चरणमा आएर महिला र खुला समूहलाई एउटैमा मिसाउने निर्णय गर्यो । सोही बमोजिमको संशोधित नामावली राति साढे ११ बजे मात्रै विकासकर्तालाई उपलब्ध गराइएको थियो । मध्यरातमा प्राप्त सूचीका आधारमा प्रत्येक उम्मेदवारको तस्बिर पुनः मिलान गरी नयाँ डिजिटल मतपत्र बनाउन न्यूनतम ८ देखि १० घण्टा लाग्ने प्राविधिक बाध्यताका बाबजुद आयोगले एक घण्टाभित्रै मतदान सुरु गर्न निर्देशन दिएकाले तस्बिरबिनै निर्वाचन सञ्चालन गर्नुपरेको यथार्थ बाहिर आएको छ ।
मतदान सकिएपछि परिणाम आउन भएको ढिलाइलाई लिएर मेसिनको गतिमाथि उठाइएका प्रश्नहरूलाई समेत रामलक्ष्मण ग्रुपले तथ्यसहित खण्डन गरेको छ । आषाढ १० गते मध्यान्ह १२ बजे नै देशभित्रको मतदान सकिए पनि प्रवासमा रहेका मतदाताको मतदान नसकिएका कारण साँझ ६ बजेसम्म कुर्नुपरेको थियो । प्रवासको मतदान सकिएलत्तै मेसिनका डाटा संकलन गरेर जम्मा १० मिनेटको अवधिमा ८० वटा मेसिनमा खसेका २ लाख ९२ हजार ९४१ वटा स्वस्तिक छापको डिजिटल गणना गरी निर्वाचन आयोगलाई बुझाइएको थियो । त्यसपछि मतपरिणामलाई औपचारिक रूपमा घोषणा गर्न आयोगले लगाएको समय उसको आफ्नै आन्तरिक प्रक्रियाका कारण भएको स्पष्ट पारिएको छ ।
विगत १३ वर्षमा देशका प्रमुख राजनीतिक दलहरू एमाले, राप्रपा लगायतका ३०० भन्दा बढी जटिल निर्वाचनहरू शतप्रतिशत शुद्धताका साथ सम्पन्न गराइसकेको अनुभव सुनाउँदै प्रविधि विकासकर्ताहरूले रास्वपाको महाधिवेशनमा देखिएको भद्रगोलको दोष व्यवस्थापन पक्षलाई दिएका छन् । महाधिवेशनलाई चुस्त बनाउन निर्वाचन अगावै २० पानाको विस्तृत कार्यान्वयन पुस्तिका बुझाइएको भए पनि त्यसका सुझावहरूलाई आयोगले रद्दीको टोकरीमा फालिदिँदा ऐतिहासिक भनिएको महाधिवेशनले बदनामी कमाउनुपरेको उनीहरूको निष्कर्ष छ । नयाँ पुस्ताको आशा र वैकल्पिक राजनीतिको नारा बोकेको रास्वपाको छविमा यस व्यवस्थापकीय कमजोरीले गम्भीर धक्का पुर्याएको उल्लेख गर्दै रामलक्ष्मण ग्रुपले आफ्नो प्रविधिको पारदर्शिता प्रमाणित गर्न जुनसुकै मञ्चमा पनि खुला बहस गर्न तयार रहेको चुनौती दिएको छ ।