‘जेन–जेड मुभमेन्ट अलायन्स’द्वारा अख्तियार प्रमुख र आयुक्तहरूलाई राजीनामाको दबाबपत्र

ecopolinews.com

काठमाडौं — जेन–जेड आन्दोलनसँग सम्बन्धित युवाहरूको समूह ‘जेन–जेड मुभमेन्ट अलायन्स’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल राजीनामा माग गरेको छ।


मंगलबार बिहान अलायन्सका प्रतिनिधिहरूले राजधानीको टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुगेर ‘राजीनामा दिनका लागि आग्रह तथा दबाबपत्र’ शीर्षकमा औपचारिक पत्र बुझाएका हुन्।

देशभरका ३९ जिल्लामा क्रियाशील १२ वटा समूहका प्रतिनिधिहरूको हस्ताक्षर सहित बुझाइएको उक्त पत्रमा भनिएको छ —

> “वि.सं. २०८२ भाद्र २३ गतेदेखि सुरु भएको जेन–जेड आन्दोलनका प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुन्। तर, अख्तियारमा निष्पक्ष र स्वतन्त्र नेतृत्वको अभावले ती मागहरू पूरा हुने सम्भावना देखिँदैन।”

दबाबपत्रमा प्रमुख आयुक्त राईलगायत सबै आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसदीय सुनुवाइ विना अध्यादेशमार्फत गरेको भन्दै त्यसलाई “निरंकुश र संविधानविपरीत” भनिएको छ।

पत्रमा उल्लेख छ —

> “यो प्रक्रिया नै तपाईंहरूको निष्पक्षता र वैधानिकता माथि प्रश्न उठाउँछ। साथै, तपाईंका कार्यहरू राजनीतिक पक्षपातपूर्ण देखिएका छन्। तपाईंको नाम वाइडबडी विमान खरिद प्रकरणलगायत अनेकौं विवादास्पद मुद्दामा मुछिएको छ, जसले अख्तियारको विश्वसनीयता गम्भीर रूपमा घटाएको छ।”

अलायन्सले विशेष अदालतले समेत अख्तियारको कार्यप्रणालीमाथि प्रश्न उठाएको प्रसंग उल्लेख गर्दै आयोगले अब निष्पक्ष रूपमा काम गर्न सक्ने कुनै विश्वसनीय आधार नरहेको दाबी गरेको छ।

पत्रमा भनिएको छ —

> “७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताविरुद्ध लड्दै प्राण गुमाएका छन्। उनीहरूको बलिदानको सम्मान गर्दै नैतिक जिम्मेवारी स्वरूप प्रमुख आयुक्त र सम्पूर्ण आयुक्तहरूले तत्काल राजीनामा दिनुपर्छ।”

अलायन्सले बुझाएको पत्रको प्रतिलिपि प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अख्तियारका सबै आयुक्तहरूलाई पनि पठाइएको छ।

प्रतिक्रिया