“एमालेको आजको गोप्य जमघट: ओलीले के निर्देशन दिनेछन्?”

ecopolinews.com

नेकपा (एमाले) ले विघटित प्रतिनिधि सभाका पूर्वसांसदहरूलाई आज दिउँसो १ बजे च्यासलस्थित पार्टी मुख्यालयमा उपस्थित हुन आह्वान गरेको छ। निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे विशेष निर्देशन दिनेछन्।

एमालेले पछिल्ला दिनमा प्रतिनिधि सभा पुनःस्थापनाको मागलाई लिएर देशभर तहगत रूपमा प्रदर्शन र भेला गर्दै आएको छ। वडा, पालिका र जिल्ला तहमा जनपरिचालन भइरहेका छन्। तर, पुनःस्थापनाको मुद्दा लिएर पार्टीले अदालतमुखी कदम भने चालेको छैन। कांग्रेससँग सहकार्यको खोजी भइरहे पनि कांग्रेस भित्रै मतभेद रहेको र पुनःस्थापनामा नजाने निर्णय सार्वजनिक भइसकेको छ।

यसैबीच, एमालेभित्र अबको रणनीति के हुने भन्नेबारे व्यापक उत्सुकता छ। बर्तौलाले नयाँ राजनीतिक परिस्थितिमा पूर्वसांसदहरूले निभाउनुपर्ने भूमिका, पार्टीको साझा धारणा र आगामी दबाबमूलक कदमबारे आजको बैठकले मार्गनिर्देशन गर्ने जनाएका छन्।

नेताहरूका अनुसार, कांग्रेसको असहभागितापछि एमालेले कुन मार्ग रोज्ने हो– आजको छलफलले नै पार्टीको आगामी राजनीतिक दिशा स्पष्ट पार्नेछ।

प्रतिक्रिया