मुख्य बुँदा
दशैंपछि दुर्गादेवीको प्रतिमा सेलाउने क्रममा विवाद
टहरा जलाइयो, केही घरमा आगजनी प्रयास
प्रहरीको २३ सेल अश्रुग्यास प्रयोग, घाइते पनि
स्थानीय प्रशासनद्वारा कर्फ्यू आदेश जारी
जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको छ। ढुङ्गामुढा भएपछि परिस्थिती नियन्त्रणबाहिर गएर तेलिया पोखरीको डिलमा बनाइएको टहरा आगजनी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आक्रोशित भीडले केही घरमा समेत आगजनी प्रयास गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको र त्यस क्रममा प्रहरीसहित केही स्थानीय घाइते भएको जनाएको छ।
स्थिति थप बिग्रन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझ ६:३० बजेदेखि वडा नम्बर २० भित्र कर्फ्यू आदेश जारी गरेको छ।
यसअघि भदौमा पनि गणेश पूजाको मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच झडप भएको थियो। त्यसबेला सर्वपक्षीय बैठक बसेर सद्भाव कायम गर्ने सहमति भएको भए पनि फेरि तनाव दोहोरिएको छ।