काठमाडौँ: नेकपा एमालेबाट निर्वाचित रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) मा प्रवेश गर्नुभएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच आजपा अध्यक्ष प्रभु साहले मेयर कानुसहित केही वडाध्यक्षहरूलाई पार्टीमा स्वागत गर्नुभयो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर निर्वाचित हुनुभएका कानुले एमालेको नीति र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको बताउनुभएको छ। उहाँले भन्नुभयो, "एमालेको नीति र सिद्धान्त अब सान्दर्भिक रहेन, नेतृत्व पनि बिग्रँदै गएकाले आजपाको विचार र एजेन्डा ठीक लागेर यो निर्णय लिएको हुँ।" पछिल्लो राजनीतिक विकासक्रम र निर्वाचन परिणामपछि एमालेमा बसिरहनु उपयुक्त नठानेर आफूले उपयुक्त समयमा पार्टी परिवर्तन गरेको उहाँको भनाइ छ। मधेसको राजनीतिमा प्रभु साह नेतृत्वको आजपाले आफ्नो प्रभाव विस्तार गरिरहेका बेला यो दल अदबदललाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।pc:setopati