काठमाडौं, २८ असोज । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक भोलिदेखि सुरु हुने भएको छ। बैठक ललितपुरको झम्सिखेलस्थित भव्य पार्टी प्यालेस ‘रामबाघ महल’मा असोज २९, ३० र ३१ गतेसम्म सञ्चालन हुनेछ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन्। प्रतिवेदन लेखन कार्य पूरा भइसकेको एमाले स्रोतले जनाएको छ।
एमाले सचिवालय बैठकले यसअघि नै आगामी मंसिरको अन्तिमतिर पार्टीको ११औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ, जसलाई केन्द्रीय कमिटी बैठकले औपचारिक अनुमोदन गर्ने अपेक्षा गरिएको छ।
तर, बैठक राजनीतिकरूपमा निकै चासोको विषय बनेको छ। पछिल्ला दिनमा एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ। सचिवालय बैठकमा समेत करिब आधा दर्जन नेताले अध्यक्ष ओलीको राजीनामाको विषय उठाएको बताइन्छ।
राजनीतिक प्रतिवेदनसँगै बैठकमा संगठन सुदृढीकरण, महाधिवेशन तयारी, र आगामी रणनीतिमाथि समेत व्यापक छलफल हुने एमालेका एक स्थायी कमिटी सदस्यले बताएका छन्।