काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जापानलाई पाँच विकेटले पराजित गरेको छ।
ओमानको अल अमरेत मैदानमा शुक्रबार साँझ सम्पन्न खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमै पूरा गर्दै सहज जित हात पारेको हो।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका बलरहरूले जापानलाई सुरुवातमै दबाबमा राखे। २० ओभरमा ८ विकेट गुमाएर जापानले १३१ रनको योगफल तयार पारेको थियो।
जापानका ओपनर केन्डेल कादोवाकीले ४१ बलमा ६० रन बनाउँदै टिमलाई सम्मानजनक स्कोरसम्म पुर्याए। उनले पाँच चौका र तीन छक्का प्रहार गरे। इसेम रहमानले पनि ३१ रन बनाएर सहयोग पुर्याए। नेपालका बलर सन्दीप लामिछाने र गुल्सन झाले समान दुई–दुई विकेट लिए भने नन्दन यादवले एक विकेट हात पारे।
जवाफी ब्याटिङमा नेपालले आत्मविश्वासपूर्ण सुरुवात गरेको थियो। ओपनर कुशल भुर्तेलले २१ रन र आशिफ शेखले ३८ रनको योगदान दिए। मध्यान्तरमा केही विकेट गुमाए पनि दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले संयमित ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए।
दिपेन्द्रले १४ बलमा १४ रन बनाउँदा गुल्सनले २० बलमा २८ रनको आक्रामक इनिङ खेले। उनले एक चौका र दुई छक्का प्रहार गर्दै अन्त्यमा विजयी शट हिर्काए।
जापानका लागि रियो थोमस, रविचन्द्रन र डेकन म्याककोमले समान एक–एक विकेट हात पारे।
यो जितसँगै नेपालले प्राप्त गरेको अंक सुपर सिक्स चरणमा समेत गणना हुनेछ, जसले विश्वकप छनोटमा नेपालको सम्भावना अझ प्रबल बनाएको छ।