विश्व राजनीतिमा खैलाबैला: 'नियम नमाने ओमानलाई उडाइदिन्छौँ', अमेरिकी राष्ट्रपति ट्रम्पको खुला धम्की!

ecopolinews.com

मध्यपूर्वको भूराजनीतिमा यतिबेला एक नयाँ र गम्भीर तरङ्ग पैदा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपले विश्वकै अत्यन्तै महत्त्वपूर्ण जलमार्ग 'स्ट्रेट अफ होर्मुज' माथि नियन्त्रण कायम गर्ने प्रयास गरे ओमानमाथि कडा सैन्य कारबाही गर्ने खुला धम्की दिनुभएको छ। ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकका क्रममा ट्रम्पले दिएको यस उत्तेजक र आक्रामक अभिव्यक्तिले विश्वभरको कूटनीतिक वृत्तलाई नै स्तब्ध बनाएको छ। इरान र ओमानले संयुक्त रूपमा उक्त जलमार्गको व्यवस्थापन गर्ने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय कानुनकै धज्जी उडाउँदै ओमानलाई 'उडाइदिने' सम्मको चेतावनी दिनुभएको हो।

विश्वको कुल तेल ढुवानीमध्ये २० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने यस जलमार्गमा कसैको पनि एकलौटी नियन्त्रण अमेरिकालाई मान्य नहुने ट्रम्पको स्पष्ट र कठोर अडान छ। "त्यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो र ओमानले अरू सबैले जस्तै नियमभित्र रहेर व्यवहार गर्नुपर्छ, नत्र हामीले तिनीहरूलाई उडाइदिनुपर्ने हुन्छ," ट्रम्पको यो भनाइ सुरुमा 'स्लिप अफ टङ' (जिब्रो चिप्लिएर इरान भन्न खोज्दा ओमान भनिएको) हुन सक्ने अनुमान गरिए तापनि अमेरिकी विदेश मन्त्रालयले त्यसलाई सिधै खारेज गर्दै ट्रम्पले ओमानकै नाम लिएको औपचारिक पुष्टि गरेपछि स्थिति थप गम्भीर बनेको हो। इरानको सरकारी टेलिभिजनले स्ट्रेट अफ होर्मुजको संयुक्त व्यवस्थापनबारे ओमानसँग समझदारी पत्र (एमओयू) तयार भएको दाबी गरेपछि ट्रम्प प्रशासन आक्रोशित बनेको हो, यद्यपि अमेरिकाले उक्त रिपोर्टलाई 'पूर्ण रूपमा बनावटी' भन्दै आएको छ।

ट्रम्पको यो अभिव्यक्तिले दुई शताब्दीभन्दा लामो समयदेखि अमेरिकाको भरपर्दो र निकट सहयोगी रहँदै आएको ओमानसँगको सम्बन्धमा चिसोपना ल्याउने निश्चित छ। तटस्थ परराष्ट्र नीतिको बलियो हिमायती मानिने ओमानले गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्न वासिङ्टन र तेहरानबीच शान्ति मध्यस्थकर्ताको अत्यन्तै संवेदनशील भूमिका निर्वाह गरिरहेको थियो। तर, अमेरिकाले आफ्नो सैन्य शक्तिको आडमा 'गनबोट डिप्लोमेसी' (Gunboat Diplomacy) अपनाउँदै एउटा मध्यस्थकर्ता राष्ट्रमाथि नै यति तल्लो स्तरको धम्की दिनुलाई अन्तर्राष्ट्रिय कानुनका जानकारहरूले 'माफिया गिरोहका प्रमुखको शैली' भन्दै कडा निन्दा गरेका छन्। संयुक्त राष्ट्रसङ्घको चार्टरले निषेध गरेको बल प्रयोगको धम्कीलाई महाशक्ति राष्ट्र अमेरिकाले नै यसरी नजरअन्दाज गर्नुले मध्यपूर्वलाई फेरि अर्को भयानक युद्धको भुमरीमा धकेल्ने जोखिम बढाएको छ।

यसका साथै, सोही बैठकमा ट्रम्पले साउदी अरेबिया र कतारलगायतका प्रभावशाली अरब राष्ट्रहरूलाई इजरायलसँग औपचारिक सम्बन्ध स्थापना गर्न 'अब्राहम एकर्ड्स' मा हस्ताक्षर गर्न जबर्जस्त दबाब सिर्जना गर्नुभएको छ। यदि उनीहरूले इजरायललाई स्वीकार नगरे अमेरिका सम्पूर्ण वार्ता र सम्झौताबाट पछि हट्ने चेतावनीसमेत उहाँले दिनुभएको छ। एकातिर इरानले जलमार्ग बन्द गरेर आफ्नो सार्वभौमिकता दाबी गर्ने रणनीति अख्तियार गर्नु र अर्कोतिर अमेरिकाले सैन्य कारबाहीको त्रास देखाएर अरब राष्ट्रहरूलाई झुकाउन खोज्नुले मध्यपूर्वको भूराजनीतिक सन्तुलन अब अत्यन्तै नाजुक र विष्फोटक मोडमा पुगेको स्पष्ट संकेत गर्दछ। Source: CNN 

प्रतिक्रिया