कांग्रेसको विशेष महाधिवेशन आजदेखि भृकुटीमण्डपमा, नेतृत्व परिवर्तनको मागले संस्थापन दबाबमा

ecopolinews.com

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आह्वान गरिएको विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। भृकुटीमण्डपमा दिउँसो १ बजे औपचारिक उद्घाटन हुने यस महाधिवेशनलाई पार्टीभित्र नेतृत्व परिवर्तनको निर्णायक मोडका रूपमा हेरिएको छ।

भृकुटीमण्डपको खुला चौरमा करिब ५० जना अतिथि अट्ने मञ्च निर्माण गरिएको छ भने महाधिवेशनस्थलमा छ हजारभन्दा बढी प्रतिनिधि अट्ने गरी कुर्सीको व्यवस्थापन गरिएको छ। मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार मञ्च क्षेत्र कांग्रेसका झण्डा, गेट, ब्यानर र प्रचार सामग्रीले आकर्षक ढंगले सजाइएको छ।

विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्‍यालीसहित आउने प्रतिनिधि र कार्यकर्तालाई व्यवस्थित रूपमा कार्यक्रमस्थलमा प्रवेश गराउने तयारी पूरा भएको आयोजकले जनाएको छ। महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ। यस महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन।

देशभरबाट आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश काठमाडौँ आइसकेका छन् भने बाँकी प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिको भनाइ छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा ३ हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्था भइसकेको छ। आवश्यक परे थप चार सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी तयारी गरिएको उनले जानकारी दिए।

उद्घाटनपछि हुने बन्दसत्र पनि भृकुटीमण्डपकै सभाहलमा सञ्चालन गरिनेछ। बन्दसत्रमा पार्टी नेतृत्व परिवर्तनको मुद्दा प्रमुख रूपमा उठ्ने निश्चित जस्तै देखिएको छ। देशभरबाट आएका बहुमत प्रतिनिधिले वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको माग अघि सारेका छन्। तर नेतृत्व परिवर्तनले पार्टी विभाजनतर्फ जान सक्ने जोखिम रहेको भन्दै महामन्त्रीद्वय थापा र शर्मा भने संकल्प प्रस्ताव पारित गरी विशेष महाधिवेशन समापन गर्ने रणनीतिमा देखिएका छन्।

यस अर्थमा विशेष महाधिवेशन संस्थापन पक्षका लागि गम्भीर चुनौती र दबाबको रूपमा प्रस्तुत हुने देखिएको छ।

बिहान ८ बजेदेखि नाम दर्ता

महाधिवेशन प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि सुरु हुनेछ। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार भृकुटीमण्डपको मूल गेट नजिकै राखिएका स्टलहरूबाट नाम दर्ता गरिनेछ। नाम दर्ताका लागि प्रतिनिधिले परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइज फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क साथमा ल्याउन आग्रह गरिएको छ।

नेपाली कांग्रेसको भावी दिशा र नेतृत्वको बहस केन्द्रमा रहने यो विशेष महाधिवेशनले पार्टी राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया