आत्मबल सहित प्रहरी अपराध अनुसन्धानमा सक्रिय

ecopolinews.com

काठमाडौँ – जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगजनीमा कार्यालयका १६ गाडी, १० मोटरसाइकल र पाँच दशकदेखि संकलन गरिएको अनुसन्धान सामग्री पूर्ण रूपमा नष्ट भएको छ। प्रिन्टर, फोटोकपी मेसिन र अन्य कार्यालय सामग्री पनि जलेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजी कुमार आचार्यका अनुसार, कार्यालयका हतियार भने सुरक्षित छन्। “हाम्रो कार्यालयबाट हतियार लुटिएको छैन,” उनले बताए।

ध्वस्त भए पनि कार्यालयले आफ्नो जिम्मेवारीमा ढिलाइ नगरी, निर्माणाधीन नयाँ भवनमा बसेर अनुसन्धान कार्य पुनः सुरु गरेको छ। नयाँ भवन टेकुमा निर्माण भइरहेको छ र अन्तिम चरणमा पुगेको छ।

प्रहरीले पुरानो कार्यालयमा जलेका सामग्रीको व्यवस्थापन गर्दै अनुसन्धान कार्यमा फर्किन थालेको छ। सेवाग्राहीहरू आफ्ना पुराना फाइल खोज्न सुरु गरेका छन्। ठगीसम्बन्धी सबै फाइल प्रदर्शनकारीले जलाए पनि, पिल्लर प्रमुख डीएसपी कृष्ण विष्ट ती फाइलहरू जुटाउने प्रयासमा छन्।

साथै, उपत्यका अपराध अनुसन्धान कार्यालयले जेनजी प्रदर्शनका क्रममा जेल तोडेर भागेका कैदीहरूलाई पक्राउ गर्ने अभियान पनि चलाएको छ। अहिलेसम्म ५० भन्दा बढी कैदी पक्राउ गरी कारागार प्रशासनमा बुझाइएको छ।

एसपी आचार्यले भने, “हामी विस्तारै उठ्दै छौँ। अनुसन्धानमा आवश्यक सामग्री र कार्यालय व्यवस्थापन गरेर पुरानै लयमा फर्किने प्रयास भइरहेको छ।”

उपत्यका अपराध अनुसन्धान कार्यालयले आगजनीको बाबजुद पनि अनुसन्धान कार्यलाई निरन्तरता दिँदै अपराध नियन्त्रणमा आफ्नो भूमिका जारी राखेको छ।

प्रतिक्रिया