इसराइल–हमास युद्धविरामपछि पनि नेपाली विपिन जोशीको अवस्था अज्ञात

ecopolinews.com

तेल अविभ / काठमाडौं – इसराइल र हमासबीच दुई वर्षदेखि जारी रक्तपात अन्त्य गर्दै बिहीबार इजिप्टको मध्यस्थतामा युद्धविराम भएको छ। यो सहमतिसँगै गजामा रहेका बन्धकहरूलाई क्रमशः मुक्त गर्ने तयारी भएको छ। युद्धविरामले शान्तिको आशा जगाएसँगै गजामा दुई वर्षदेखि बेपत्ता नेपाली युवक विपिन जोशीबारे पनि नयाँ आशा पलाएको छ।

अक्टोबर ७, २०२३ मा हमासले इसराइलमा गरेको आक्रमणका क्रममा नेपालका १० विद्यार्थीमध्ये विपिन जोशी बन्धक बनाइएका थिए। त्यसयता उनको अवस्था अज्ञात छ। अमेरिकी टेलिभिजन सिएनएनले हालै सार्वजनिक गरेको सूचीमा विपिनलाई ‘अज्ञात स्थिति’मा राखिएको छ। उक्त सूचीमा ४८ जना बन्धकमध्ये २० जनालाई जीवित रहेको बताइएको छ भने २८ जनाको मृत्यु भएको आकलन गरिएको छ।

गत बुधबार विपिनको परिवारले दुई वर्षअघि खिचिएको एउटा भिडियो सार्वजनिक गरेको थियो। उक्त भिडियो नोभेम्बर २०२३ मा खिचिएको र इसराइलले परिवारलाई उपलब्ध गराएको इसराइली पत्रिका द जेरूसलेम पोस्टले पुष्टि गरेको छ। विपिनकी बहिनी पुष्पा जोशीका अनुसार यो पुरानो भिडिओ युद्धविरामका बेला अन्तर्राष्ट्रिय समुदायमा दबाब सिर्जना गर्न सार्वजनिक गरिएको हो।

नेपालका लागि इसराइलका राजदूत प्रा. डा. धनप्रसाद पण्डितले सेतोपाटीसँग कुरा गर्दै विपिनको अवस्थाबारे हालसम्म कुनै नयाँ जानकारी नआएको बताएका छन्। उनका अनुसार, इसराइली र अन्तर्राष्ट्रिय निकायहरूले खोजी प्रयास जारी राखेका छन्।

युद्धविरामको घोषणापछि तेल अविभस्थित होस्टेज स्क्वायरमा बन्धकका परिवारले उत्सव मनाएका थिए। गजामा पनि स्थानीयले खुसी मनाए। तर नेपालको पर्वत जिल्लास्थित विपिनको घरमा भने निस्तब्धता छ। विपिनको आमाले भनिन्, “जबसम्म विपिनबारे अन्तिम खबर आउँदैन, म छोराको पर्खाइमा बसिरहनेछु। युद्ध रोकिनु आशाको नयाँ सन्देश हो।”

दुई वर्षदेखि अपहृत विपिन जोशीको अवस्थाबारे अझै पनि स्पष्टता नभए पनि युद्धविराम र बन्धकहरू मुक्त गरिने सहमतिले अब उनको खोजीमा नयाँ आशा जगाएको छ।

अज्ञात

मृत्यु भएका हरु

जीवित बन्धक हरु


स्रोत: सिएनएन, द जेरूसलेम पोस्ट,

प्रतिक्रिया