Gen-Z क्रान्ति: सामाजिक सञ्जाल बन्दविरुद्ध ओर्लिए युवाहरू — काठमाडौंमा कर्फ्यु, संसद् परिसर कब्जामा

ecopolinews.com

रविन्द्र कट्टेल

सोमबार, भदौ २३ गते काठमाडौं तनावग्रस्त बन्यो। सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका ‘Gen-Z’ पुस्ताले सडक तताएपछि प्रशासनले दिनभरै काठमाडौंलाई अराजकतालाई नजिक्याउने दृश्य देख्यो। माइतीघर मण्डलदेखि नयाँबानेश्वरसम्म नारा जुलुसको तरंग फैलिँदा आन्दोलनले संसद भवनसम्म धकेलियो। आक्रोशित युवाहरू संसद् परिसरभित्रै प्रवेश गर्दा प्रहरीले कडा बल प्रयोग गर्न बाध्य भयो। अश्रुग्यास, लाठीचार्ज र हवाई फायरसम्म प्रयोग भयो तर पनि भीडलाई पूर्ण नियन्त्रण गर्न सकिएन।


उग्र हुँदै गएको स्थिति देखेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म बानेश्वर आसपास क्षेत्रमा कर्फ्यु आदेश जारी गरे। तर घटनाक्रम थामिनु सट्टा थप फैलियो। संसद् गेटमा आगजनी र ठोक्कामारबीच सरकारले कर्फ्यु दायरा विस्तार गरी राष्ट्रपति भवन, उपराष्ट्रपति कार्यालय, सिंहदरबारदेखि नारायणहिटी दरबार संग्रहालयसम्मलाई पनि समेट्यो। तत्कालीन अवस्था नियन्त्रण गर्न सेना समेत परिचालन गरिएको छ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आन्दोलनको प्रमुख चिङ्गारी बनेको हो। फेसबुक, यूट्युब, इन्स्टाग्राम र X बन्द भएपछि अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोलिएको महसुस गर्दै युवाहरू सडकमा ओर्लिएका थिए। उनीहरूको माग केवल डिजिटल अधिकारमा सीमित छैन। उनीहरू भ्रष्टाचारको अन्त्य, पारदर्शिता र राजनीतिक जवाफदेहिताको लागि पनि आक्रोशित छन्। विश्वभर छरिएको नेपाली डायस्पोरासमेत यस आन्दोलनलाई ‘Gen-Z क्रान्ति’ भनेर सम्बोधन गर्दै समर्थन जनाइरहेका छन्।

काठमाडौंका सडकमा देखा परेको यो दृश्य केवल एउटा आन्दोलन मात्र होइन, नयाँ पुस्ताले उठाएको ऐतिहासिक विद्रोह हो। सरकारले अब आफ्नो नीति फिर्ता गर्ने कि कठोरताका साथ भिड्ने भन्ने दोबाटोमा उभिएको छ। अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई सम्मान नगरे आन्दोलन अझ उग्र हुँदै जाने संकेत भइसकेको छ।

प्रतिक्रिया