“वार्ताको ढोका खुल्यो”: दुर्गा प्रसाईंको सरकारप्रति सकारात्मक संकेत, जनताको आवाज सुन्ने कदमको स्वागत

ecopolinews.com

काठमाडौं । व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले सरकारले आफूहरूलाई वार्ताका लागि बोलाएको हो भने त्यस कदमको हार्दिक स्वागत गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै प्रसाईंले जनताको आवाज सुन्न सरकारले देखाएको तत्परताको प्रशंसा गरेका छन्।

“सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने हामी यसको स्वागत गर्दछौं,” प्रसाईंले लेखेका छन्, “जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ।”

उनले वार्तालाई औपचारिकतामा मात्र सीमित नगरी राष्ट्र र नागरिकको हितमा ठोस तथा परिणाममुखी समाधान खोज्न सरकारलाई आह्वान गरेका छन्। प्रसाईंले थप लेखेका छन्, “वार्ता गर्न बोलाउने मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।”

प्रसाईंको यो अभिव्यक्ति गृहमन्त्री ओमप्रकाश अर्यालले सडक प्रदर्शनको तयारी गरिरहेका विभिन्न राजनीतिक दल र समूहलाई सुरक्षा जोखिमका कारण प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना माग राख्न शनिबार गरेको अपिलपछि आएको हो।

स्मरण रहोस्, प्रसाईंले आगामी १५ कात्तिकपछि देशव्यापी आन्दोलनको घोषणा गरिसकेका छन्। उक्त आन्दोलन र त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीबारे चारवटै सुरक्षा निकाय — नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री अर्याल र गृहसचिव रामेश्वर दंगाललाई संयुक्त रूपमा ब्रिफिङ दिएका थिए।

सरकारले मुलुकको सुरक्षा अवस्था जोखिममा पर्न सक्ने संकेत गर्दै सबै राजनीतिक शक्तिहरूलाई सडक प्रदर्शनभन्दा संवादको बाटो रोज्न निरन्तर आग्रह गर्दै आएको छ। प्रसाईंको सकारात्मक प्रतिक्रियापछि सरकार र आन्दोलनरत पक्षबीच संवादको ढोका खुलेको संकेत देखिएको छ, जसले देशको जटिल राजनीतिक परिस्थितिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया