काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रियामा आन्तरिक मतदानमार्फत शीर्ष स्थानमा पर्ने आकांक्षीहरूको सूची तयार गरेको छ। पार्टीभित्र भएको मतदानका आधारमा छ वटा क्लस्टरमा उम्मेदवारहरूको प्राथमिकता तय गरिएको हो।
पार्टी स्रोतबाट प्राप्त जानकारी अनुसार आदिवासी जनजाति समूहमा उत्तमबहादुर गुरुङ १६ हजार १२ मतसहित अग्रस्थानमा छन्। उनलाई १४ हजार २०१ मतसहित सत्यकला राईले पछ्याएकी छन् भने १३ हजार ७२ मतसहित टासी ल्हाजोम तेस्रो स्थानमा अटाएकी छन्। गुरुङ यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने प्रस्तावमा परेका थिए, तर अन्तिम समयमा उक्त प्रस्ताव कार्यान्वयन हुन सकेन।
खस आर्य क्लस्टरमा रमेश प्रसाईं १८ हजार २२३ मतसहित स्पष्ट अग्रतामा देखिएका छन्। दोस्रो स्थानमा प्रमोद न्यौपाने (१४ हजार १६७ मत) र तेस्रो स्थानमा रञ्जु दर्शना (१३ हजार ५५१ मत) रहेका छन्।
दलित समूहमा विजय जैरुले १३ हजार १४३ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन्। अमृत विक १३ हजार ७३ मतसहित दोस्रो र सबिना विश्वकर्मा १२ हजार ८५६ मतसहित तेस्रो स्थानमा छन्।
थारु क्लस्टरमा प्रेमलाल चौधरी १७ हजार ४२५ मतसहित शीर्ष स्थानमा पुगेका छन्। उनलाई चुमान चौधरी (१३ हजार ६१३ मत) र पुष्पाकुमारी चौधरी (१३ हजार ५३५ मत) ले पछ्याएका छन्।
मुस्लिम समूहमा समिना मियाले १५ हजार ९६७ मतसहित पहिलो स्थान हासिल गरेकी छन्। अख्तर हुसेन १५ हजार १५७ मतसहित दोस्रो र मोहम्मद हसरत अली १४ हजार ४६३ मतसहित तेस्रो स्थानमा छन्।
मधेश क्लस्टरमा पुनम कुमारी अग्रवाल १५ हजार ७४५ मतसहित अग्रस्थानमा रहँदा डा. अंकिता ठाकुर १२ हजार ३२२ मतसहित दोस्रो र ममता शर्मा ११ हजार ६३० मतसहित तेस्रो स्थानमा पुगेकी छन्।
आन्तरिक मतदानको यो नतिजाले रास्वपाभित्र समानुपातिक उम्मेदवार छनोटको प्रतिस्पर्धा कति तीव्र छ भन्ने संकेत गरेको छ। अन्तिम सूची सार्वजनिक हुँदा यी नामहरू कति अगाडि बढ्छन् भन्नेमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।