न्यूयोर्क । विश्वकै चर्चित कला नीलामी गृह Sotheby’s ले इटालियन समकालीन कलाकार मौरिजियो क्याटेलनको विवादास्पद कलाकृति ‘America’ — १८ क्यारेटको ठोस सुनबाट बनेको कार्यरत शौचालय — लिलामीमा राख्ने घोषणा गरेको छ।
अक्टोबर ३१ मा जारी सूचनाअनुसार, यो अद्वितीय शौचालयको नीलामी नोभेम्बर १८ मा हुनेछ र सुरुवाती मूल्य करिब १० मिलियन अमेरिकी डलर अर्थात् यसको शाब्दिक तौलअनुसारको मूल्य निर्धारण गरिएको छ।
पूरा १०१.२ किलोग्राम तौल भएको यो कलाकृति, क्याटेलनको व्यंग्यात्मक शैली र अमेरिकी उपभोक्तावादप्रति व्यङ्ग्यको प्रतीक मानिन्छ। यसअघि यो कलाकृति २०१६ मा न्युयोर्कको गगनहाइम म्युजियममा प्रदर्शित हुँदा सर्वसाधारणले प्रयोग गर्नसमेत पाएका थिए।
तर यसपटक Sotheby’s को नयाँ Breuer Building Headquarters मा नोभेम्बर ८ देखि १८ सम्म प्रदर्शनीमा राखिँदा दर्शकलाई हेर्न मात्र अनुमति दिइनेछ।
Sotheby’s का समकालीन कला प्रमुख डेभिड गाल्परिन भन्छन्,
“यसपालि हामी मानिसहरूलाई कला माथि बस्न होइन, कला हेर्न चाहन्छौँ।”
यो ‘America’ शौचालय, क्याटेलनले बनाएका संस्करणमध्ये बाँकी रहेको एक मात्र मौलिक टुक्रा हो, जसका कारण यो यो वर्षको सबैभन्दा प्रतीक्षित नीलामी वस्तु बन्न पुगेको छ।