काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच सोमबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालको वर्तमान राजनीतिक–आर्थिक अवस्था तथा द्विपक्षीय सहकार्यबारे व्यापक छलफल भएको छ।
अवसरमा अर्थमन्त्री खनालले विशेष परिस्थतिमा गठन भएको वर्तमान सरकारको प्रमुख जिम्मेवारी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै पुनर्निर्माण योजना र सहुलियत प्याकेजमार्फत निजी क्षेत्रको मनोबल उकास्ने प्रतिबद्धता व्यक्त गरे।
यसक्रममा अमेरिकी राजदूत थम्पसनले हालैका घटनामा ज्यान गुमाएका परिवारप्रति संवेदना प्रकट गर्दै कठिन परिस्थितिमा अमेरिकी सरकार नेपालसँगै रहेको स्पष्ट पारे। साथै, उनले एमसीसी सहयोगअन्तर्गत सञ्चालित एमसीए नेपालका परियोजना समयमै सम्पन्न गर्न सरकारको थप सक्रियता आवश्यक रहेको उल्लेख गरे।
जवाफमा अर्थमन्त्री खनालले ती परियोजनाको सफल कार्यान्वयनमा ढिलाइ नहुने विश्वास दिलाउँदै नेपालका सामाजिक–आर्थिक विकासमा अमेरिकी सरकारबाट हुँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले भविष्यमा समेत यस किसिमको सहयोग निरन्तर पाइने आशा व्यक्त गरे।
बैठकमा अर्थसचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा अमेरिकी दूतावासका पदाधिकारीहरुको उपस्थिति थियो।
६ असोज २०८२, सोमबार ०२:११ मा प्रकाशित