काठमाडौं । GEN-Z आन्दोलनको नाममा भइरहेको तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा काठमाडौंका मेयर बालेन साह र अभियन्ता सुधन गुरुङविरुद्ध नेविसंघले किटानी जाहेरी दर्ता गरेको छ।
नेविसंघका प्रतिनिधिहरूले आइतबार काठमाडौं र ललितपुर प्रहरीमा छुट्टाछुट्टै उजुरी दिँदै GEN-Z आन्दोलनको दुरुपयोग गरी सरकारी भवन, कागजात तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र हत्या जस्ता आपराधिक गतिविधिमा युवाहरूलाई उकास्ने काम साह र गुरुङले गरेको दाबी गरेका छन्।
जाहेरीमा आन्दोलनको नाममा देशभर त्रास फैलाउने, शान्ति–सुरक्षा संकटमा पार्ने र युवालाई भडकाउने काम योजनाबद्ध रूपमा गरिएको उल्लेख गरिएको छ।
नेविसंघले सरकारसँग यस्तो कार्यमा संलग्न सबै व्यक्तिलाई कानूनी दायरामा ल्याउन माग गरेको छ। प्रहरी स्रोतका अनुसार दर्ता भएको जाहेरीको प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।
यसअघि पनि GEN-Z आन्दोलनका क्रममा भएका केही हिंसात्मक घटनामा विभिन्न युवाहरू पक्राउ परेका थिए भने आन्दोलनका अभियन्ताहरूले आफ्नो आन्दोलनलाई “शान्तिपूर्ण र जनमुखी” भनेर बचाउ गर्दै आएका छन्।