यातायात व्यवसायी महासंघको सातौँ महाधिवेशन वैशाख २७ देखि पोखरामा

ecopolinews.com

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख २७, २८ र २९ गते पर्यटकीय नगरी पोखरामा आयोजना हुने भएको छ। महासंघको पछिल्लो निर्णयअनुसार यसपटकको महाधिवेशनमा जिल्ला अधिवेशन सम्पन्न नगरेका जिल्लाहरूलाई सहभागी गराइने छैन।

महासंघले जिल्ला अधिवेशनका लागि चैत मसान्तसम्मको समयसीमा तोकेको थियो। उक्त अवधिभित्र आफ्नो अधिवेशन पूरा नगर्ने जिल्लाहरूलाई महाधिवेशनको बन्द सत्र र निर्वाचन प्रक्रियामा सहभागी नगराउने कडा नीति महासंघले लिएको छ। महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको नामावली संकलनका लागि सातै प्रदेशका संयोजकहरूलाई वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयमा रेकर्ड पेस गर्न निर्देशन दिइएको छ।

एकै स्थानमा विद्युतीय मतदान यसपटक महासंघले आफ्नो निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउने भएको छ। महासंघको पाँचौँ संशोधित विधान र निर्वाचन कार्यविधि नियमावली २०८२ बमोजिम यसपटक विद्युतीय मतदान (इलेक्ट्रोनिक भोटिङ) मार्फत नेतृत्व चयन गरिनेछ।

विशेष कुरा त के छ भने, महासंघको केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन एकै दिन र एकै स्थानमा प्रदेशगत रूपमा छुट्टाछुट्टै डेस्क मार्फत सम्पन्न गरिनेछ। यसले निर्वाचन प्रक्रियालाई छिटो, छरितो र विश्वसनीय बनाउने महासंघको विश्वास छ। महाधिवेशनको तयारीका लागि अहिले पोखरामा व्यापक चहलपहल सुरु भइसकेको छ।



प्रतिक्रिया