काठमाडौं । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यस वर्ष दुई आकर्षक बचतपत्र बजारमा ल्याएसँगै सर्वसाधारणमा चहलपहल तीव्र बन्दै गएको छ। कार्यालयले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र–२०८७’ र ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन प्रक्रियामा अघि बढाएको हो।
पाँच वर्ष अवधिका यी दुवै बचतपत्रका लागि मंसिर २५ गतेसम्म आवेदन दिन सकिने र मंसिर २८ गते औपचारिक रूपमा निष्कासन गरिने कार्यालयले जनाएको छ। नागरिक बचतपत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत आकर्षक वार्षिक ब्याजदर तोकिएको छ। प्राप्त ब्याज हरेक ६ महिनामा खरिदकर्ताको बैंक खातामा स्वचालित रूपमा जम्मा हुने व्यवस्था छ।
१० हजार रुपैयाँदेखि सुरुआत गर्न मिल्ने यी बचतपत्र नेपाली नागरिक, गैरआवासीय नेपाली तथा विदेशमा रोजगारी गरेर फर्केक नागरिकका लागि सरल र सुरक्षित लगानीको विकल्प मानिएका छन्। DOMS प्रणाली र इन्भेस्टर पोर्टलमार्फत घरमै बसेर आवेदन दिन सकिने भएकाले सर्वसाधारणमा यसको पहुँच झन् बढेको छ।
अघिल्ला वर्षमा नागरिक बचतपत्र १०० प्रतिशत बिक्री भए पनि वैदेशिक रोजगार बचतपत्रप्रति भने लगानीकर्ताको चासो अपेक्षाकृत कमजोर रहँदै आएको थियो। तर यसपटक स्थिति बदलिँदै गएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनी बताउँछन्।
उनका अनुसार, “के हो बचतपत्र? किन लगानी गर्ने? कसरी लगानी गर्ने? भन्ने विषयमा पर्याप्त जानकारी नहुँदा धेरैले मौका गुमाउँदै आएका थिए। तर पछिल्ला वर्षमा सचेतना बढ्दै गएका कारण आवेदनको संख्या द्रुत रूपमा बढिरहेको छ।”
नागरिक बचतपत्रमा पहिलो चार दिनमै ८० करोड रुपैयाँबराबरको आवेदन परेको छ । उच्च चासोका कारण यस वर्ष तोकिएको कोटा समयअघि नै पूरा हुने अनुमान कार्यालयको छ।
सरकारी बचतपत्रलाई सुरक्षित, सजिलो र आकर्षक प्रतिफल दिने लगानीका रूपमा उपसचिव पुडासैनीले विशेष रूपमा जोड दिए। उनका अनुसार, मुद्दती निक्षेपभन्दा उच्च ब्याजदर, छ महिनामै ब्याज भुक्तानी, बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सकिने व्यवस्था, तथा आवश्यक परे तुरुन्तै दोस्रो बजारमा बेचेर तरलता प्राप्त गर्न मिल्ने सुविधा यसको मुख्य बलिएका पक्ष हुन्।
“घरजग्गा, सुनचाँदी, पुँजीबजार वा मुद्दती निक्षेपजस्ता पारम्परिक बजारभन्दा सरकारी बचतपत्र सुरक्षित र विश्वसनीय विकल्प हो,” पुडासैनी भन्छन्, “बचतपत्र ‘स्टक’का रूपमा जारी हुने भएकाले आवेदन दिएको क्रमअनुसार खरिदको प्राथमिकता मिल्छ, जसले लगानीकर्तालाई थप सहजता प्रदान गर्छ।”
सरकारले बचतकर्तालाई सुरक्षित, पारदर्शी र आकर्षक लगानी विकल्प दिन लक्ष्य लिएर सुरु गरेको बचतपत्र अभियान अब क्रमशः सर्वसाधारणमा लोकप्रिय बन्दै गएको देखिन्छ।