काठमाडौं, साउन २३ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किने भएका छन्। यसअघि साउन २६ गते स्वदेश आउने कार्यक्रम रहे पनि आगमन समय राति पर्ने भएकाले नेता-कार्यकर्ताको सुझावअनुसार कार्यक्रम परिमार्जन गरिएको हो।
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २८ गते दिउँसो १२:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनले स्वागत कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आगमन मिति परिवर्तन गरिएको जानकारी दिए।
देउवाको स्वदेश फिर्तीलाई नेपाली कांग्रेसले संगठनात्मक एकता प्रदर्शन गर्ने अवसरका रूपमा लिएको छ। पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई विमानस्थलमा उपस्थित भई स्वागत कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
कांग्रेसका युवा नेता मनिष जङ्ग थापाले पनि सामाजिक सञ्जालमार्फत लोकतन्त्रप्रति प्रतिबद्ध नेता–कार्यकर्ता र शुभेच्छुकलाई स्वागत कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्। पार्टी स्रोतका अनुसार स्वागत कार्यक्रममा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट समेत कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
देउवा स्वदेश फर्किएको भोलिपल्ट आफ्नानिकट नेताहरूको विशेष भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उक्त भेलामा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आगामी रणनीति तथा समसामयिक राष्ट्रिय विषयमा छलफल हुने जनाइएको छ।
पछिल्लो समय कांग्रेसभित्र संगठन विस्तार, नेतृत्वको भूमिकालगायत विषयमा विभिन्न तहमा छलफल चलिरहेका बेला देउवाको स्वदेश फिर्तीलाई राजनीतिक रूपमा पनि अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। आगामी दिनमा पार्टीको आन्तरिक व्यवस्थापन, संगठनात्मक एकता र राष्ट्रिय राजनीतिक मुद्दामा कांग्रेसले लिने रणनीतिबारे देउवाको धारणा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
यसबीच, साउन २८ मा हुने स्वागत कार्यक्रमलाई कांग्रेसको जनाधार, संगठनात्मक सक्रियता र नेतृत्वप्रतिको विश्वास प्रदर्शन गर्ने अवसरका रूपमा समेत हेरिएको छ। पार्टीभित्रका विभिन्न समूहका नेता–कार्यकर्ताको सहभागिताले कार्यक्रमको राजनीतिक सन्देश अझ प्रभावशाली बन्ने अपेक्षा गरिएको छ।