सरकारको सक्रियताले ठूला क्षति टर्‍यो, अब बीमा भुक्तानी छिटो गर्नुपर्छ: इपान अध्यक्ष कार्की

ecopolinews.com

काठमाडौं, असोज २४ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले हालैको बाढी–पहिरोमा सरकारले गरेको सक्रियताले जलविद्युत् क्षेत्रमा थप ठूलो क्षति हुनबाट बचाएको बताएका छन्।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा कार्कीले असोज १८ र १९ मा आएको बाढीका बेला सरकारले समयमै सूचना र समन्वय गरेकाले मानवीय क्षति रोक्न सहयोग पुगेको बताए।

उनका अनुसार देशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। “सरकारले पटक–पटक सूचना पठायो, सम्पर्क गर्‍यो, जोखिममा रहेका आयोजनामा हामीलाई पनि जानकारी दियो। यसले ठूलो क्षति हुनबाट बचायो,” उनले भने।

तर उनले क्षति पुगेका आयोजनाको बीमा भुक्तानी तत्काल उपलब्ध गराउन आग्रह गरे। “कति आयोजनाले गत वर्षको बीमा भुक्तानी अझै पाएका छैनन्। अहिले फेरि क्षति भएको छ,” उनले भने, “कम्तीमा दाबी रकमको ५० प्रतिशत तत्काल दिनु आवश्यक छ, ढिलाइले ब्याज तिर्नै समस्या हुन्छ।”

कार्कीले निःशुल्क सेयर माग्दै भोटेकोशी जलविद्युत् आयोजनासहितका परियोजना अवरुद्ध हुनु ऊर्जा क्षेत्रमा गम्भीर समस्या भएको बताए। “भोटेकोशी एक महिनादेखि बन्द छ, दैनिक करोडौं घाटा भइरहेको छ। सरकारले तुरुन्त हस्तक्षेप गर्नुपर्छ,” उनले जोड दिए।

उनले लामो समयदेखि विद्युत् खरिद सम्झौता (PPA) रोकिएको, मेसिनरी सामानमा अत्यधिक भन्सार लाग्ने र वनका कारण परियोजना रोकिने समस्या समाधान गर्नुपर्ने पनि बताए।

इपानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले पनि ऊर्जा क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएको भए पनि सरकारको उदासीनताले निजी उत्पादकहरू निराश भएको बताए।

उनले भने, “यदि सरकारले नपुग्ने ठाउँमा निजी क्षेत्रलाई प्रसारण लाइन र विद्युत् बिक्रीको जिम्मा दिइयो भने, हामी आफैं भारतमा पनि बेच्न सक्छौं।”

इपानले जलविद्युत् क्षेत्रमा लगानीकर्ताको मनोबल जोगाउन नीति, समन्वय र समयमै बीमा भुक्तानी सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया